काठमाडाैँ- नेकपा (एमाले) का नेता भीम रावलले आफू पार्टीभित्रै रहेर राष्ट्र, जनता, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने कुरामा अडिग रहेको बताएका छन् ।
मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले ५० वर्ष रगत, पसिना बगाएर आफैँले बनाएको पार्टी छाड्न नसकिने बताए ।
कुनै पार्टी र त्यसका नेताहरूले राष्ट्र र जनताको हितविपरीत काम गरे आफूले एमालेमै रहेर त्यस्ता गतिविधि रोक्नका लागि कदम चाल्ने उनको भनाइ छ । तर, पार्टीभित्रबाट आफूलाई निषेध गर्ने प्रयास भइरहेको भन्दै नेता रावलले गुनासोसमेत गरे ।
पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेलले अर्को पार्टीमा गइसकेका माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गर्न मिल्ने, कांग्रेसको गठबन्धनमा रहेका पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन हुने उल्लेख गर्दै उनले आफूले भने कुनै पनि नेतालाई भेट्न नहुने भन्ने कुरा सह्य हुन नसक्ने बताए ।
नेता रावलले पार्टीका उपाध्यक्ष विष्णु पौडेलले हालै आफ्नो गृह जिल्ला अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाएको भन्दै आपत्तिसमेत जनाए ।
आफूले पार्टीको विधि र निर्णय मान्दा पनि नेताहरूले अनावश्यक रूपमा आरोप लगाउने गरेको उनले गुनासो गरे ।
नेता रावलले जनताको बहुदलीय जनवादले मार्गनिर्देश गरेअनुसार आफूले पार्टीभित्र अध्यक्षका लागि दिएको उम्मेदवारीलाई पार्टी अध्यक्ष केपी ओलीविरुद्ध गयो भनेर पार्टीभित्रैबाट कुप्रचार गरिएको पनि बताए ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १४:२४