मिटर ब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन : गृह मन्त्रालय


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १४:४२

काठमाडौँ- सरकारले मिटर ब्याज पीडितका समस्या तत्काल समाधान गर्न नसकिने जनाएको छ ।धेरै कानुन संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने मन्त्रालयले बताएको हो ।

मंगलबार मिटर ब्याज पीडितसँग समस्या समाधानको पहल गर्न सरकारका तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृह मन्त्रालयकाे टोलीले मिटर ब्याज पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो ।

प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख घनश्याम अधिकारीलगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रालयका सहसचिव शर्माले पीडितले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने बताए ।

उनले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले ती जिल्ला अधिकारीसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

उनले मिटरब्याज पीडितको समस्या लामो समयदेखिको समस्या भएकाले पीडितहरुले भनेजसरी क्षणमरमै समाधान हुन नसक्ने पनि बताए ।

मिटर ब्याज पीडित १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका थिए। उनीहरूले मिटर ब्याजीलाई कारबाही गर,पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गरलगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १४:४२