काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न कार्यदललाई निर्देशन दिएको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।
कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्याे प्रस्तावमाथि छलफल गरेरमात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुंगाेमा पुग्ने सकिने उनको भनाइ छ ।
त्यसैगरी बैठकले मिटर ब्याज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।
बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
हैसियतअनुसार मन्त्रालय मागेका हाैँ- खनाल
यसैबीच, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले हैसियतअनुसार नै ३ वटा मन्त्रालय मागेकाे बताएका छन् ।
मिटर ब्याज पीडित किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन बानेश्वर पुगेका नेता खनालले पार्टीको हैसियतअनुसार ३ मन्त्रालय पाउनुपर्ने अडान रहेको बताएका हुन् ।
‘हामीले हाम्रो हैसियतअनुसारको निर्णय गर्छौँ । हामीले ३ वटा मन्त्रालय माग गरेका छौँ । यो हाम्रो अडान हो,’ उनले भने ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १६:३३