बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १६:५९

पोखरा– गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए । तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरुको बुझाइ थियो ।

स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अहिले भने पोखरा महानगरपालिका–५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ ।

सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिए । उनले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताए ।

‘बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो । अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ’, बरालले भने । घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रिय रुपमा काम भइरहेको जानकारी दिएन् ।

उनका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ । अहिले महानगरले पोखरीमा तारबारको लागि रु नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिइन् ।

उनका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ । निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उनले बताइन ।

पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १६:५९