विराटनगर- कोसी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरूले विराटनगरमा गरेकाे प्रदर्शन क्रममा झन्डै २ दर्जन व्यक्ति घाइते भएका छन् ।
ऐतिहासिक पृष्ठभूमिका आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोसी नाम खारेजीको माग गर्दै विराटनगरको ‘बिग होटल’मा रहेका सांसदहरूलाई दबाब दिन पुगेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा आन्दाेलनकारी र सुरक्षाकर्मी गरी करिब २ दर्जन घाइते भएका हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक खरेलका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३/३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
झडपका क्रममा रबरको गोली लागेर मोरङका सुरज राई घाइते भएका छन् भने मोरङको ग्रामथान-६ का २१ वर्षीय सुरज राईलाई दाहिने खुट्टामा रबरको गोली लागेको छ ।
यस्तै धरान-१२ का किराँत राष्ट्रिय मोर्चाका केन्द्रीय उपाध्यक्ष ४१ वर्षीय अशोक राई घाइते भएका छन् । धरानकै २२ वर्षीय उदय लिम्बूकाे दाहिने खुट्टामा चोट लागेको छ भने इटहरी-५ का २६ वर्षीय पदम केरुङको देब्रे हातको कुहिनोमा चोट लागेको छ ।
यस्तै धरान-१६ का ५१ वर्षीय शिव आङदेम्बेकाे टाउकोमा गम्भीर चोट लागेको छ । धरानकै ४८ वर्षीय ज्ञानप्रकाश राईको, धरान-५ का ४६ वर्षीय एक के दर्नाल, २५ वर्षीय विशाल राईको टाउकोमा चोट लागेको छ । उनीहरूलाई विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचारपछि धरान घोपा पठाइएको छ ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र ३ दर्जन सेल अश्रुग्यास प्रहार गरेको पोखरेलले बताए ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १७:१९