काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् ।
बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ’कामनपा प्रमुख बालेन्द्र साहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’
प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसमा ३ तहको सरकारको परिकल्पना र गाउँ–गाउँमा सिंहदरबारको परिकल्पना गर्ने अवसर आफूलाई पनि प्राप्त भएको बताउँदै प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको आन्दोलनकै आडमा संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र र ३ तहको सरकार बनाउने काम भएको तर्क गरे ।
उनले भने, ‘त्यो सरकार बनाउने बेलामा पनि स्थानीय तहलाई बनाउने बेलामा पनि मैले एक पटक फेरि प्रधानमन्त्रीका रूपमा भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ । आज स्थानीय तहको दोस्रो संस्करणको निर्वाचन सम्पन्न भइसकेपछि यो प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दा र यसको सफलताको शुभकामना व्यक्त गर्दै गर्दा मलाई विशेष हर्षको महसुस पनि भएको छ ।’
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १३:१९