झापा– मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् ।
पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।
मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नउम्रिएको गुनासो लिएर आउने गरेको बताए । उनले भने, ‘सबै किसानले लैजानु भएको बिउ नम्रिएको होइन, विभिन्न लटमा बिउ वितरण गरिएको थियो । त्यसमध्ये एक लटको मकैको बिउमा उमार शक्ति नभएको पाइयो ।’
नगरमा गुनासो लिएर आउने किसानलाई पुनः बिउ दिएर पठाइने गरेको उनको भनाइ छ । पालिकाले रु ११ लाख २१ हजार पाँच सय ६९ मा रामपुर जातको मकैको बिउ खड्का कृषि भण्डारबाट खरिद गरेको थियो ।
उनले पालिकाले खरिद गरेको बिउ नगरका ८४ जना किसानलाई वितरण गरिएको जानकारी दिए । वडा नं २ का वडाध्यक्ष दीपक बरालले किसानले आफूलाई पनि मकैको बिउ नम्रिएको बारेमा जानकारी गराइरहेको बताए ।
उनले अनुदानको नाममा लापारबाही भएकाले तत्काल छानबिन गरी दोषीलाई कारबाहीको मागसमेत गरे ।
सामाजिक अभियान्ता गोविन्द न्यौपानेले नेपाली बजारमा बिक्री वितरणका लागि राखिएका बिउको गुणस्तरमा ठूलो समस्या देखिएको बताए । उनले नियमावली अनुसार लेवल गरिएका बिउमा समस्या देखिने गरेको बताए ।
नगरपालिकाले योग्य व्यक्ति वा संस्थासँग मकैको बिउ खरिद गरेको र नउम्रिएको हो भने किसानलाई क्षतिपूर्ति दिनैपर्ने कानुनी व्यवस्था देखिन्छ । बिउविजन नियमावली २०६९ को दफा ३६ (१) अनुसार कसैले बिक्री वितरण गरेको बिउविजनको गुणस्तर र गलत सूचनाको कारण कसैलाई हानीनोक्सान पुग्न गएमा मूल्याङ्कन समितिले गरेको मूल्याकङ्न र सिफारिसको आधारमा सम्बन्धित पक्षले किसानलाई क्षतिपूर्ति दिनुपर्ने भन्ने व्यवस्था स्पष्ट छ ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १४:००