१,२ दिनभित्रै सरकारले पूर्णता पाउँछ सञ्चारमन्त्री शर्मा


तरुण पत्रिका

१५ चैत्र २०७९, बुधबार १४:१२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १(२ दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छिन् ।

रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र १(२ दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्‍याउन संसद्मा विधेयक गइसकेको बताइन् ।

‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंगोमा पुर्‍याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’

मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिइन् । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानुन बनाउनेसमेत बताइन् ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार १४:१२