मंगलबारे – आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ ।
‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो ।
नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिता आयेजना गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।
उनले स्वास्थ्य जीवनयापनका लागि खेलकुद आवश्यक रहेको भन्दै यस्ता प्रतियोगिता स्वास्थ्यका लागि उपयोगी हुने बताए ।
प्रतियोगितामा पुरुषतर्फ दौड ४२ दशमलव २ किलोमिटर रहनेछ । यसका लागि इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याँटे–धारापानी–माईपोखरी–सात हुँदै खाल्डे मैदानसम्मको रुट तय गरिएको छ ।
महिलातर्फ हाफ म्याराथनअन्तर्गत २१ दशमलव १ किलोमिटरदौड हुने आयोजकले जनाएको छ । दौड रुट इलाम बजार–बिब्लियाटे–धारापानी– माईपोखरी हुँदै सात खाल्डेसम्म तय गरिएको छ ।
म्याराथनमा नेपालका विभिन्न क्षेत्रका खेलाडिसहित भारतीय धावकसमेत सहभागी हुने अपेक्षा लिइएको छ । पुरुषतर्फ पहिलो हुनेलाई रू दुई लाख ५० हजार र महिलातर्फ पहिलो हुनेलाई रू एक लाख पुरस्कार प्रदान गरिनेछ ।
दुवै समूहतर्फ १० औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:१९