काठमाडौं। प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहू नभएर सरकार भएको भन्दै मिटब्याजी साहूको प्रतिरक्षा गरेका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले मिटरब्याजको जड साहू नभएर सरकार भएको जिकीर गरेका हुन् ।
मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो भन्दै उनले भने, ‘राज्यले नै तीन थरीको ब्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ । मिटरब्याजको जड साहू होइन सरकार हो ।’
देशलाई अस्तव्यस्त बनाएर सरकारले शासन गर्न खोजेको आरोप लगाउँदै उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको पनि बताए ।
‘सरकारले देशलाई अस्तव्यस्त बनाएर, गरीबलाई झन् गरीब बनाएर शासन गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘गरिबी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो । कहिले पनि शिक्षाको विकास गर्दैन । गरीबको चिन्ता गर्दैन ।’
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:३२