काठमाडौं । तीन मन्त्रालय नपाए सरकारमा नजाने घुर्की देखाइरहेको नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निश्चित भएको छ।
पार्टी शीर्ष नेताहरूको बैठकले उपाध्यक्ष भुसाल र उपमहासचिव ज्वालालई पठाउने निर्णय गरेको उक्त पार्टीका एक नेताले जनाएका छन् ।
तीन मन्त्रालयमा मोलतोल गरिरहेको नेकपा एसलाई प्रधानमन्त्री प्रचण्डले भने दुईमै चित्त बुझाउने प्रयास गरिरहेका छन् । त्यसका लागि महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार मन्त्रालय दिने करिब निश्चित भएको हो । अर्को एक मन्त्रालय भने टुंगो लागिनसकेको जनाइएको छ ।
हाल माओवादीका नारायणकाजी श्रेष्ठसँग रहेको भौतिक पूर्वाधार मन्त्रालयमा ज्वालालाई पठाउने तयारी पनि गरिएको छ । भुसाल र ज्वाला दुबै पहिलो पटक संघीय सरकारमा जान लागेका हुन् । ज्वाला यसअघि भने कर्णाली प्रदेशको अर्थमन्त्री भएका थिए ।
उपाध्यक्ष भुसाल राष्ट्रिय सभामा नेकपा एस संसदीय दलका नेता हुन्। उनी दोस्रो कार्यकालका लागि राष्ट्रिय सभाका सांसद बनेका हुन्। नेकपा एस विभाजन हुँदा महासचिव बनेका वेदुराम भुसाल भनाश्याम भुसाललाई महासचिव बनाइएपछि चैत ५ गते उपाध्यक्ष बनेका हुन्।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १६:४५