काठमाडौँ – नेपाल राष्ट्रिय पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन रु ८५ लाख बजेट माग गरिएको छ ।
भूकम्पका कारण हरिहर भवनस्थित पुस्तकालय भवन भत्किएपछि त्यहाँका पठन सामग्री छ वर्षपछि अस्थायी प्रिफ्याब भवनमा सारिएको छ ।
पुस्तकालयले अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ । पुस्तक तथा पत्रपत्रिका किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सो रकम माग गरिएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल राष्ट्रिय पुस्तकालयलको यसै साता अवलोकन भ्रमण गरेको थियो । समितिद्वारा गरिएको पुस्तकालयको अवलोकन भ्रमणबाट देखिएका विषयमाथि आज छलफल भएको थियो ।
छलफलका क्रममा पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित रहेकाले रकम व्यवस्थापनका लागि समितिबाट सहजीकरण गरिदिन माग भएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।
सभापति शर्माले राज्यको सम्पत्ति पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए । ‘भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित रहेको छ । यसको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी छ । समितिले यसको व्यवस्थापनका लागि सहजीकरण गर्नेछ’, उनले भने ।
छलफल कार्यक्रममा समिति सदस्य तुलसाकुमारी दाहालले पुस्तकालयको समस्यामाथि तत्कालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याउनुपर्ने बताए । उनले भने ‘तत्काल नष्ट हुने पठन सामग्रीको संरक्षणको लागि पहल गर्नुपर्छ । स्थायी भवन निर्माणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग सहकार्य एवं समन्वयन गरी पुस्तकालय सामग्रीको संरक्षण पहल गर्नुपर्छ ।’
उनले पुस्तकालय भित्र कुन–कुन पुस्तक छन् ? कति वर्षदेखिका छन् ? पठन सामग्रीको वर्गीकरण नगरेको बताउँदै दीर्घकालीन योजनाका आधारमा स्थायी भवनको पहल गर्नुपर्नेमा जोड दिए ।
पुस्तकालय नेपालको इतिहास, राज्यको सम्पत्तिका रहेकाले संरक्षण गर्नुपर्ने, तत्काल डिजिटल गर्नुपर्ने सामग्रीको मन्त्रालयसँग बैठक बसी सहजीकरण गर्ने, दिगोरुपले संरक्षित र व्यवस्थित गरी कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने विषयमाथि समितिमा छलफल भएको थियो ।
राष्ट्रिय पुस्तकालयका पुस्तक बिग्रिएको र प्रयोग गर्न मिल्ने अवस्थामा नरहेकाले तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गराई त्यसको संरक्षण र निर्माणमा पहल हुनुपर्नेमा समितिले जोड दिएको छ । विनाशकारी भूकम्पले सो भवन पूर्णरुपमा भत्किएपछि पुस्तकालयमा पुस्तक सामग्री अव्यवस्थित रुपमा पाँच वर्षसम्म बाल शान्ति निकेतन माध्यमिक विद्यायल र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भण्डारण गरिएको थियो ।
पुस्तकालयले समितिमाथि राखेको प्रतिवेदनमा समस्या समाधान र कार्यान्वयनका लागि बुक¥याकमा भण्डारण गरिएका १ लाख ५० हजार मध्ये ५० हजार सामग्रीलाई तत्काल धमिरा, ओसबाट बचाउन दश लाख, करिब एक लाख २५ हजार सामग्रीको कागजी तथा डिजिटल रेकर्ड राख्न दश लाख अनुमानित लागत पेश गरेको छ ।
त्यस्तै ५ हजार दुर्लभ सामग्रीको डिजिटलाइजेसन गरी पुस्तकालयको सफ्टेवरमा राख्न १० लाख, अत्याधुनिक सिसी क्यामरा प्रणाली जडान गर्न १० लाख, अत्याधुनिक सर्भर र ब्याकअप प्रणाली जडान गर्न १० लाख, नेपाल सरकारका मातहतमा रहेका पुस्तकालय अनलाइनमा उपलब्ध गराउन ५ लाख, बाल पुस्तकालय शाखा निर्माणका लागि २५ लाख र अन्य मेसिनरी औजार उपकरणको लागि ५ लाख गरी जम्मा ८५ लाख पुस्तकालयले अनुमानित लागत माग गरेको छ ।
पुस्तकालयका विभिन्न आवश्यकता र समस्या पहिचानमाथि शिक्षा मन्त्रालय र पुस्तकालयबीच छलफल गरी आवश्यक निर्देशन दिने समितिका सभापति शर्माले बताए ।
प्रकाशित: १५ चैत्र २०७९, बुधबार १८:०७