सर्वसाधारणका लागि पौडी पोखरी खुला


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार १५:१५

काठमाडौँ– सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।

आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए ।

दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगतका लागि प्रति सिफ्ट २ सय, मासिक ४ हजार, त्रैमासिक १० हजार, प्रशिक्षण सहित प्रतिमहिना ५ हजार र प्रशिक्षण सहित त्रैमासिक १३ हजार शुल्क तोकिएको छ ।

गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने १ करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।

 

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १५:१५