देउवा–राणाको हेपाइ सहन सकिनँ : स्वर्णिम वाग्ले


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार १६:०७

काठमाडौँ – अर्थविद् स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवा र आरजु राणा गिरोहको निरन्तरको हेपाइ र अपमानका कारण कांग्रेस परित्याग गरेको बताएका छन् ।

पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरूलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।

उनले नेताहरूलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्–
प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १६:०७