अहिलेको समय उद्यमशीलताको हो: प्रधानमन्त्री दाहाल


तरुण पत्रिका

१६ चैत्र २०७९, बिहीबार १७:२७

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन् ।

विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।

करिब छ दशक अघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यात समेत गर्ने गरेको बताउँदै उनले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताए ।
सातवटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उनले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गरे । दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उनको भनाइ छ ।

विसं २०६७ देखि कृषि सङ्काय, पशुचिकित्सा, मत्स्यचिकित्सा एवं वन सङ्कायमा दक्षजनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विश्वविद्यालयले कृषि अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको उनले बताए । कृषि उत्पादनमा देखिएको समस्या चुनौतीलाई विश्वविद्यालयले आवश्यकता महसुस गरी समाधान गर्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको स्वामित्व विवाद समाधान भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताए । समायोजनमा आएका कर्मचारीको विस्तृत छलफलबाट समाधान खोजिने बताए ।

समारोहमा भारतका डा वाइएस पारमर विश्वविद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा डा राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थी दीक्षित गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
स्नातक तहमा कृषिबाट ४ सय ६८, वनबाट एक सय ३६, पशु चिकित्साबाट १ सय ५, मत्स्य विज्ञानबाट २३ गरी ७ सय ३२ जना दीक्षित भएका हुन् ।

स्नातकोत्तर तहमा कृषिबाट १ सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी ३ सय ३६ जना र विद्यावारिधि अन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ जना विद्यार्थी दीक्षित भएको उपकुलपति रेग्मीले जानकारी दिए ।

विसं २०६९ देखि सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ जना विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा ७ सय २८, स्नातकोत्तरमा २ सय ३० र विद्यावारिधि कार्यक्रममा १४ जना विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा ४ हजार ९ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् ।

 

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १७:२७