काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बन्ने सांसदहरूको नाम टुंगो लगाएको छ ।
नेपाली कांग्रेसले ब्फ्नो भागमा परेका ८ मन्त्रालयका लागि मन्त्रीको टुंगो लगाएको हो । कांग्रेसबाट पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउँद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन् ।
धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानुन तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको तयारीछ । खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन ।
दलहरूबीचको भागबन्डामा जनता समाजवादी पार्टीले शिक्षा र वन मन्त्रालय पाउने भएको छ । जनमतले उद्योग मन्त्रालय पाउने भएको छ । नेकपा एसको भने भौतिकबाहेक मन्त्रालय टुंगिएको छैन । एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै छन् । संख्या तय भए पनि मन्त्रालय फरक पर्न सक्ने प्रधानमन्त्री सचिवालयको भनाइ छ ।
यसैबीच, शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ ।
सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २÷२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय पाउने समझदारी छ ।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार २२:०८