काठमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् ।
बिहीबार सदस्यता दिएको रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ मा पार्टीको तर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ ।
कांग्रेसले उपचुनावमा टिकट नदिएपछि पार्टी परित्याग गरेका वाग्ले रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।
रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ–१ बाट उम्मेदवार भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत वाग्लेलाई उम्मेदवार बनाइने जानकारी दिएका हुन् ।
कांग्रेस परित्याग गर्ने तयारी गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वाग्लेलाई रोक्ने प्रयास गरेका थिए । वाग्लेलाई महामन्त्रीद्वयले सानेपा बोलाए पनि जान अस्वीकार गरेका थिए ।
पछिल्ला वर्षहरुमा स्वाभिमानी कांग्रेसको शिर निहुरिने अवस्था आएको भन्दै उनले बिहीबार अपराह्न कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार २२:१५