कैलाली । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन् ।
पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आएका उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखे ।
उनले भने, ‘अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ । त्यसैले हामी देशव्यापी रूपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।’
तर, उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताए । ‘तर, अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छ,’ उनले भने ।
धनगढीमा प्रेस चौतारीले गरेको अन्तक्र्रियामा उनले आफ्नो पार्टीे सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर बस्ने बताए ।
एमालले अबको अर्को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढेको र हाल सशक्त प्रतिपक्षको भूमिकामा रहने उनले जानकारी दिए ।
अर्को प्रसंगमा उनले नेकपा एमालेको नेतृत्वबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि प्राप्त हुने बताए ।
पार्टीलाई ग्रामीण तहसम्म नै स्थापित गर्नका लागि एमालेले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
देश डरलाग्दो गरी अस्थिरतामा फसेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले मुलुक अर्थतन्त्र सम्हाल्न नसक्ने अवस्थामा पुगेको पनि बताए ।
देशमा विप्रेषणको परिसूचकबाहेक सबै सूचक नकारात्मक देखिएका र अहिलको आन्तरिक राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।
उनले अन्तर्राष्ट्रिय सहयोगदाताले गरेका प्रतिबद्धता पनि प्राप्त हुन नसकेको र यस्तो अवस्थामा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।
उपाध्यक्ष पौडेलले सो पार्टीका नेता भीम रावलले पार्टीको अनुशासन पालना नगरे अनुशासनको कारबाही हुने चेतावनी दिए ।
उनले रावलले पार्टी सदस्यले निर्वाह गर्नुपर्ने कुनै पनि काम गर्न नसकेको भन्दै भने, ‘भीम रावलजीले एकपछि अर्को गल्ती गर्दै हुनुहन्छ । उनले आत्मालोचना गर्नुपर्दछ, पार्टीको अनुशासन सबै सदस्यलाई लाग्छ, उहाँलाई पनि कारबाही हुन सक्छ ।’
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १३:०१