हुम्लामा एसइईका विद्यार्थी बढे


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १३:३४

हुम्ला– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २ सय ३४ परीक्षार्थी सहभागी भएका छन् ।

जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिए ।

हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी छन् ।

त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी सहभागी छन् ।

हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसइई परीक्षा दिँदै छन् । जसमा साधारणतर्फ १ हजार एक सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेड वृद्धितर्फ छ जना परीक्षार्थी छन् ।

गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसइई दिएका थिए ।

 

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १३:३४