काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताए ।
उनले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’
राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताए ।
राहदानी, सवारी चालक अनुमति पत्र लगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।
नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए ।
उनले भने ‘विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’
बैठकमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आगामी दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १४:२८