ठेक्का पाए पनि काम गर्ने वातावरण भएन’


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १४:३८

महेन्द्रनगर– महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन ।

ठेक्का पाएको २ वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेकोे हो ।

महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्र्याक खोल्ने कामको ठेक्का लिएको २ वर्ष हुनलाक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले ११ किलोमिटर ट्र्याक खोल्ने काम रोकिएकोे निर्माण व्यवसायी देवीदत्त भट्टले बताए ।

दिवा–सनिदेव जेभीसँग विसं २०८० असारसम्म निर्माण सम्पन्न गर्ने गरी रू ५ करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो ।

‘रुख कटानको आदेश आउँछ भनेको डेढ वर्ष भइसक्यो’, उनले भने, ‘डडेल्धुरातर्फको चार किमीमा रुख कटानको आदेश आएपछि ट्र्याक खोलिसक्यौँ तर कञ्चनपुरतर्फको भने रोकिएको छ ।’ निर्माण व्यवसायी भट्टले उपकरण सहित कार्यक्षेत्रमा तयारी अवस्थामा बसे पनि रुख कटानको आदेश नआउँदा काममा ढिलाइ हुनाका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको गुनासो गरे ।

लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्नेछ । ‘ठेक्कको समयावधि आगामी असारसम्म छ’, उनले भने, ‘रुख कटानको आदेश आउला र काम सुरु गरौँला भनेर बसेका छौँ ।’ निर्माण व्यवसायी भट्टले ब्रह्मदेव क्षेत्रको सेल्फी डाँडासम्म रुख नभएकाले ट्र्याक खोल्न समस्या नभएको बताए ।

त्यस्तै महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाले रुख कटानको विषय अघि बढिसकेको जनाएको छ । सोही लोकमार्गअन्तर्गत डडेल्धुरा क्षेत्रको एउटा प्याकेजले एक वर्षदेखि रुख कटानको आदेश पर्खिरहेको छ ।

डडेल्धुरामा लोकमार्गको २८ देखि ३८ किमीसम्मको भागमा रुख कटानको आदेश आएपछि काम भइरहेको छ । उक्त ट्र्याक खोल्ने जिम्मा केएस–मित्र जेभी कम्पनीले लिएको थियो ।

रुख कटानको आदेश नआइ काम गर्नसक्ने अवस्था नभएको कम्पनीका प्रतिनिधि डिल्लीराज लेखकले बताए । ३८ देखि ६५ किमीसम्मको २७ किमी ट्र्याक खोल्ने ठेक्का भएको वर्ष दिन हुँदा पनि रुख कटानको आदेश नआएपछि काम सुरु भएको छैन’, उनले भने । निर्माणको ठेक्का सम्झौता गर्नुअघि नै काम गर्ने वातावरण सरकारले बनाइदिनुपथ्र्यो ।”

उक्त क्षेत्रमा ६ हजार रुख कटान गर्नुपर्ने प्रतिनिधि लेखकले जानकारी दिए । छत्तिस महिनाभित्र सडकको ट्र्याक खोल्ने गरी २३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १४:३८