घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १४:४४

बनियानी– घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ ।

कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गरे ।

अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ ।

अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउनेलगायतका उद्योग तथा वाणिज्यसम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । राजस्व बुझाउन कार्यालयमै जानुपर्ने छ । राजस्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो–छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो, कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक रामकृष्ण श्रेष्ठलगायतले सरकारी सेवालाई चुस्त–दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए ।

 

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १४:४४