मिटरब्याजको समस्या समाधान गर्न आयोग गठन गरिन्छ : गृहमन्त्री श्रेष्ठ


तरुण पत्रिका

१७ चैत्र २०७९, शुक्रबार १७:५६

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले विधेयक तयार पारेको बताएका छन् ।

आज सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि मन्त्रिपरिषद्ले कानुन संशोधन गर्ने गरी विधेयक तयार पारेर अगाडि बढाइसकेको उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेको एउटा मुख्य समस्या मिटरब्याजको समस्या छ । त्यो मिटरब्याज पीडितहरूलाई न्याय दिन र आजको लोकतान्त्रिक नेपालका सामन्तवादका अवशेषहरू जुन रुपमा देखा पर्दै छन् । त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानुनलाई केही संशोधन गर्ने गरी विधेयक तयार पारेर अगाडि बढाइसकेको छ ।’

मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने पनि उनले जानकारी दिए । उनले भने, ‘एउटा सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव हामीले गरेका छौँ । त्यो आयोगको नामावलीसहित मन्त्रिपरिषद्मा पेस गर्नेछौँ । त्यसले सम्पूर्ण अनुसन्धान गरेर यो प्रक्रियालाई निरुपण गर्न र न्याय दिन प्रभावकारी भूमिका खेल्नेछ ।’

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १७:५६