चितवन– चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।
सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए । उनले भने , “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।” यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताए । आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान जारी रहेको छ ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार १३:२५