काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका छन् । देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेर सुख्खा यामका कारण पावर सप्लाइमा समस्या आएको बताएका हुन् ।
घिसिङले यसपटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताए । पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो । तर, उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै पानी पर्नुपर्नेमा पानी समेत नपरेपछि वीरगन्ज र बिराटरनगर लगायतका क्षेत्रमा सञ्चालित उद्योगमा लोडसेडिङ भएको घिसिङले बताए । ‘अहिले विराटनगर र वीरगन्ज क्षेत्रका उद्योगीलाई बिहान र बेलुकाको समयमा मात्र चलाउनु भनेको हो,’ घिसिङले भने, ‘तर गत वर्षको तुलनामा अहिले कम समस्या छ ।’ गत वर्ष भारतबाट बिजुली ल्याउने संयन्त्र कमजोर हुँदा थप समस्या आएको थियो ।
घिसिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल परेको बताए ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार १४:४२