रुपन्देही । व्यक्ति एउटै, नागरिक २ देशको । यस्तो कुरा पटक–पटक सुनिएकै हो । यसै क्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका–५ का वडाध्यक्षमाथि नेपाल र भारत दुवै देशको नागरिक रहेको आरोप छ ।
मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंह र उनका काका ससुरा तथा वडा–५ का वडाध्यक्ष कृष्णकुमार सिंह नेपाल र भारत दुवै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेपछि सो कुरा बाहिर आएको हो ।
भारतको निर्वाचन आयोगको पहिचानपत्र अनुसार आशा सिंह जानकी नगर–१८ थाना नौतनवा, तहसिल नौतनवा जिला महराजगंज (उ.प्र.) भारतकी स्थायी बासिन्दा हुन् । उनको मकान संख्या ४० हो । सोही ठेगाना देखिएको कृष्णकुमार सिंहको पहिचान पत्रमा मकान संख्या ४१ छ । आयोगको पहिचानपत्रमा उनीहरूको पिनकोड नम्बर क्रमशः २७३१६४ उ.प्र. र २७३१६१ उ.प्र. उल्लेख छ ।
जसवन्त सिंहका ४ जना छोराहरू श्रीपत सिंह, राजकुमार सिंह, कृष्णकुमार सिंह र अर्जुन सिंह हुन् । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह राजकुमार सिंहका जेठा छोरा भारत सिंहकी पत्नी हुन् । त्यसैगरी वडाध्यक्ष कृष्णकुमार सिंह जसवन्त सिंहका काइँला छोरा तथा उपाध्यक्ष आशा सिंहका काका ससुरा हुन् । पञ्चायतकालदेखि नै उनको परिवार नेपालको स्थानीय राजनीतिमा सक्रिय देखिन्छ ।
राजकुमार सिंहले तत्कालीन ओडवलिया गाउँ पञ्चायतबाट २०३९ र २०४३ सालमा दुई पटक प्रधानपञ्च जितेका थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि उनी २०४९ र २०५३ सालमा दुई पटक सिलौटिया गाविस अध्यक्ष पनि निर्वाचित भए ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उनकी बुहारी आशा सिंह मर्चवारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भइन् ।
स्वर्गीय जसवन्त सिंहका जेठा छोरा श्रीपत सिंह २०३२ चैत २९ गते तत्कालीन ठर्की गाउँ पञ्चायतका निर्विरोध निर्वाचित प्रधानपञ्च तथा २०५४ सालमा इलाका नम्बर १६ को इलाका सदस्य जितेका व्यक्ति हुन् । त्यसैगरी अर्जुन सिंह २०५३ सालमा ठर्की गाविसका अध्यक्ष भएका थिए भने आशा सिंह र कृष्णा (कृष्णकुमार) सिंह २०७४ को स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष हुन् ।
‘सीमावारि र पारि दुवैतिर घर–जग्गा रहे पनि उनीहरू खासमा भारतीय नागरिक हुन्,’ नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘उनीहरूको घर–जग्गा तथा नेपालतर्फको ठेगाना मर्चवारी गाउँपालिका–५ ओवलिया रहे पनि बेलुकाको बास भने भारत नौतनवास्थित निवासमा नै रहने गरेको छ,’ उनले भने, ‘उनीहरूको राजनीतिक र प्रशासनिक पकड दुवै देशमा रहेकाले कसैले कारबाहीको पहल नगरेको मात्र हो ।’
वडाध्यक्ष कृष्णकुमार सिंहले आफ्ना बाबु र आमा दुवै जनाले पञ्चायतकालमा ४–४ पटक प्रधानपञ्च जितेको बताए । उनले भने, ‘बाबु जसवन्त सिंह तत्कालीन ठर्की गाउँ पञ्चायत र जेठीआमा देवमाया सिंह ओडवलिया गाउँ पञ्चायतबाट सँगसँगै ४–४ पटक प्रधानपञ्चको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।’ आफूहरूको फर्जी भारतीय निर्वाचन कार्ड बनाएर बद्नाम गर्न कसैले षड्यन्त्र रचेको उनको आरोप छ ।
कृष्णकुमार सिंहले भने, ‘नौतनवास्थित हामी बस्ने घर पनि मावली हजुरबुबा त्रिवेणी क्षेनियाको नाममा छ । त्यो आमाको पेवा सम्पत्ति हो ।’
आफूहरूको नाममा भारतमा कुनै पनि सम्पत्ति वा कागज प्रमाण नभएको उनले बताए । उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमा आफूहरूविरुद्ध पोस्ट गरिएका सबै कागज प्रमाण फर्जी हुन्, त्यस्ता फर्जी कागजात बनाई हामीलाई फसाउन षड्यन्त्र गर्नेलाई कारबाही हुनुपर्छ ।’
गाउँपालिका उपाध्यक्ष आशा सिंहको भनाइ पनि कृष्ण सिंहसँग मिल्दोजुल्दो छ । भारत देवरिया माइत भएकी आशा सिंहको नेपाली नागरिकता वैवाहिक अंगीकृत हो । केही दिनअघि मात्र कसैले आफ्नो नाम जोडेर भारत निर्वाचन आयोगको फर्जी पहिचानपत्र तयार गराई फेसबुकमा हालेको भन्दै उपाध्यक्ष सिंहले त्यसमा कुनै सत्यता नरहेको बताइन् । उनले भनिन्, ‘म नेपाली नागरिक हुँ, नेपाली हुनुमा गर्व छ ।’
नागरिकता ऐन २०६३ को धारा १४(१) अनुसार ‘कुनै विदेशी व्यक्तिले झूटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।’
त्यसैगरी नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट हटाउने गरी दिएको आदेशउपर ३५ दिनभित्र सम्बन्धित उच्च अदालतमा पनुरावेदन लाग्न सक्ने सोही धाराको दफा २ मा लेखिएको छ ।
यस सम्बन्धमा रुपन्देही नागरिक समाजका महासचिव दीपक केसीले देशको दिद्यमान ऐन कानुनसँग बाझिने कुनै पनि क्रियाकलापविरुद्ध नेपाल सरकार तथा सम्बन्धित निकायले तत्काल कारबाही गरी कानुनी राज्यको अनुभूति दिनुपर्ने बताए ।
त्यसैगरी सम्बन्धित निकाय निर्वाचन आयोग समेतले आरोपितहरूको २ देशको नागरिकता सम्बन्धमा तत्काल छानबिन गरी दोषी सावित भए उनीहरूको नेपाली नागरिकता बदर गरी निर्वाचित पदसमेत खारेज गरी कारबाही गर्नुपर्ने नागरिक अभियान्ता तथा अधिवक्ता प्रख्यात बन्जाडेको भनाइ छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपाध्यक्ष आशा सिंह र वडाध्यक्ष कृष्णा सिंहले लिएको भनिएको २ देशको नागरिकताबारे उजुरी परेको र छानबिन चलिरहेको बताए । दोहोरो नागरिकता लिएको पुष्टि भए कारबाही हुने उनको भनाइ छ ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार १६:२५