काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दैछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न लक्ष्यमा छ ।
नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ ।
नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ ।
नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटकपमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।
क्रिकेट विश्वकपको पछिल्ला तीन सिरिजदेखि लयमा रहेको नेपालले जारी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।
प्रकाशित: ११ बैशाख २०८०, सोमबार ०८:३६