तपाईंले विश्वका अतिविकसितदेखि कमविकसित मुलुकको पनि भ्रमण गरिसक्नुभएको छ, विकासका दृष्टिले सुदूरपश्चिमको पोजिसन कस्तो लाग्छ ?
विकसित देशहरुको तुलनामा हामीहरु बीचबीचमा छौं । नेपालीलाई लाग्छ कि हामी चाहीं एकदमै गएगुज्रेका छौं भनेर तर त्यस्तो होइन । अन्य धेरै देशहरुभन्दा हामीहरु अगाडि छौं । विभिन्न आँकडाहरुले पनि त्यस्तो देखाउँछ । धेरै अफ्रिकी मुलुकहरुभन्दा हाम्रो शिक्षा क्षेत्र राम्रो छ । त्यसैगरी शान्ति सुरक्षाका दृष्टिले नेपाल धेरै राम्रो छ । त्यसलाई हामीले विकासको दरिलो खम्बाको रुपमा लिनुपर्छ । अर्को हाम्रो समाजमा भाइचाराको राम्रो सम्बन्ध छ, जहाँ विभिन्न जातजाति, मर्ध समुदायहरु एकआपसमा मिलेर बसेका हुन्छन् । विकास भन्ने बित्तिकै आर्थिक र भौतिकलाई मात्रै हरेर हुँदैन सामाजिक विकास महत्वपूर्ण विषय हो । पछिल्लो समय नेपालीमा धेरै परिवर्तन आएको छ । जस्तो छुवाछु, हलिया प्रथामा परिवर्तन आएको छ । महिलाहरुमा धेरै परिवर्तन आएको छ । यसरी साना कुराहरुले परिवर्तनको प्रात्याभूति दिलाएको छ । जस्तो काठमाडौं हर्नरहित ठाउँ हो त्यसबाट कोही पनि बाहिर जान पाउँदैनन् जनताले त्यसलाई पछ्याएका छन् । हाम्रो समाजमा जति खुल्लापन छ त्यो अन्य धेरै मुलुकहरुमा पाइँदैन । यी समग्र विषयलाई केलाएर हेर्ने हो भने धेरै मुलुकहरुभन्दा नेपालको विकास क्षेत्र राम्रो छ ।
तपाईंले त्यसोभनिरहँदा यो भएन, त्यो भएन भनेर धेरै गुनासाहरु आउने गर्दछन्, सुदूरपश्चिम त अझ विकास र पछौटेपनलाई सम्वोधन गर्नुपर्ने पहिचान पनि भएको छ, हाम्रो देशमा किन विकास हुन सकेन ? हामी नीतिमा चुक्यौ कि नेतृत्वमा कि अहिलेको संघीय प्रणालीको व्यवस्थाले ने काम नगरेको हो नेपाल विकसित हुनको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
विकास भन्ने कुरा जादुको छडी जस्तो आजको भोलि नै हुँदैन । आउँदा आठ, दश वर्षमा राम्रो विकास हुन पनि सक्छ । हामी नीति र नेतृत्वमा चुकेका छैनौं, सुशासनमा चुकेका छौं । त्यसकारण शासकीय प्रणालीलाई धेरै नै सुधार गर्नुपर्ने जरुरी मैले देखेकी छु । पञ्चायती व्यवस्थाबाट फड्को मारेर हामी डेमोक्रेसीमा आयौं । हुन त त्यो बेलामा गिरिजाबाबुले धेरै परिवर्तन गर्न खोज्नुभएको थियो । तर, त्यतिबेला एलिट किसिमको प्रशासन चलेको थियो । अहिले पनि त्यस्तै किसिमको प्रशासन चलिरहेको छ । अहिले पनि प्रशासकहरुमा मैले सेवा दिने होइन म चाहीं शासक हुँ यिनीहर चाहीं सासित हुन् भन्ने मनस्थिति छ ।
त्यसोभए कर्मचारी ब्युरोक्रेसी रुपान्तरित भएन हो ?
हो, त्यसमा म क्लियर छु । हाम्रो देशमा ब्युरोक्र्याटहरु परिवर्तन जरुरी छ । कर्मचारीहरु कसैले भनेको पनि टेर्दैनन् । तपाईंहरुले देख्नुभएको होला नि नेपालमा कतिवटा प्रधानमन्त्री आए गए । कति जनाले काम गराउन खोजे तर टाउको फोर्दा पनि काम हुँदैन । जुनसुकै पार्टीको भएपनि जनप्रतिनिधि भनेको जनताकै काम गर्नका लागि गएका हुन् । उनीहरुलाई जनताको काम नगरी सुखै छैन । किन भने भोलि फेरि भोट पनि लिनुछ, तिनै छरछिमेक दाजुभाइसँग बस्नुपर्ने पनि छ । त्यसैले पनि जनप्रतिनिधिहरु जनताको काम गर्न खोज्छन् । तर, त्यहाँभित्र छिरेपछि कर्मचारीको सिस्टमले नै खाइदिन्छ । एउटा फ्रेमवर्कभित्र सरकार चलेको हुन्छ, त्यो बुझ्ने कर्मचारीहरु नै हुन् । राजनीतिज्ञहरुलाई त्यो फ्रेमवर्क थाहा हुँदैन । कर्मचारीहरुले एउटै शब्दको विभिन्न अर्थलाग्ने गरी नियम बनाएका हुन्छन् । राजनीतिकर्मीले यो क्षेत्रको जनतालाई यो समस्या छ यो काम गरौं भनेको हुन्छ । तर, कर्मचारीले विभिन्न शब्दजाल बुनेर तयार गरेको नियमले गर्नै मिल्दैन भनेर घुमाइदिन्छन् । नेतालाई कर्मचारीले यो काम गर्दा त अख्तियार लाग्छ, भ्रष्टाचार लाग्छ, भोलि जेलनेल जानुपर्छ भनेर तर्साइदिन्छन् । यसरी कानुनी अड्चन देखाएर विकास मार्ने काम भएका छन् । फेरि कर्मचारी र नेताको लक्ष्य, मनसाय मिल्यो भने जे काम पनि हुन्छ । त्यसैले मैले भन्दै पनि आएकी छु । न हामी गरीब राष्ट्र हो, न हामीसँग नेतृत्व, नीति र पोलिसीको कमी छ । तर, कर्मचारी प्रशासनमा ठूलो ह्रास आएको छ । त्यसैले गुड गभर्मेन्सलाई नपहिल्याउने हो भने हाम्रो देश जिरोमा पनि जान सक्छ । उदाहरणको लागि एडीबीबाट एउटा यस्तो लोन आएको रहेछ त्यसमा हामीले ३० प्रतिशतसम्म खर्च गर्ने क्षमता रहेछ । त्यसमा जम्मा ३ प्रतिशत खर्च भएको रहेछ । जब हामीले लोन लिइसक्यौं ब्याज तिरिरहेका छौं काम चाहीं गरेकै छैनौं । अनि हामी धरापमा गएनांै ? त्यो राजनीति गर्ने मान्छेहरुको मात्रै जिम्मेवारी हो कि प्रशासन चलाउनेहरुको पनि हो ?
तपाईं विकास, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलाई एकआपसमा छुट्ट्याएर हेर्नुहुन्न भन्ने मत राख्नुहुन्छ, राष्ट्रियताका कुरा आउँदा सुदूरपश्चिममा अवस्थिति कालापानी, लिपुलेक र लिम्पियाधुराको सधैं चर्चा हुन्छ । यो समस्याको वास्तविक समाधान कसरी हुन्छ ?
सबैभन्दा पहिला नेपालमा राष्ट्रियता भनेको के हो ? त्यसको डेफिनेसन हुनुप¥यो । राष्ट्रियता भनेको हाम्रो विकास हो कि, सामाजिक धरातल हो कि, धार्मिक, सांस्कृतिक धरातल हो कि, बोर्डर हो कि आकास को कि के हो त ? यसको ठेट उत्तर छ ? नेपालमा राष्ट्रियताको आफूखुसी ब्याख्या भएको छ । यो अरु मुलुकहरुमा पनि हुने गर्दछ । जबजब सरकारमा संकट आउँछ अनि राष्ट्रियताका कुरा उठ्न थाल्दछन् । हामीहरुसँग एकापसमा लडाइँ गर्ने क्षमता छैन अन्य क्षमतावान मुलुकहरु त एकापसमा लड्न थाल्छन् । आफूभित्र संकट आउँछ अनि त्यसलाई डाइभट गर्नको लागि राष्ट्रियताको विषय उठाएर लडाइँ सुरु हुन्छ । जस्तो अहिले रुस र युक्रेनको कुरा गर्दा आफूभित्र क्राइसिस आयो अनि एउटा स्लोगन फालिदियो राष्ट्रियताको अनि सबै मिल्नुप¥यो । जब रुसमा क्राइसिस आयो अनि लौ अब युक्रेन त नेटोसँग मिल्न आँट्यो अब पहिल्यै ध्वस्त पर्नुपर्छ भनेर अन्धाधुन्दा लडाइँ सुरु भयो । ऊ नेटोसँग मिल्ने नमिल्ने थाहा नै छैन । न हाम्रोमा पनि त्यस्तै भएको हो कि त्यसमा कसैले खोजी गरेका छन् त ? कारण नखोजिकन अन्तर्राष्ट्रिय सम्बन्धलाई हामी बिगारेर राख्यौं भने हाम्रो भविष्य के हुन्छ ? त्यसैले उत्तर र दक्षिणका छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध राख्नुपर्छ । किनभने छिमेकी कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन । हाम्रा दुई छिमेकीबीचको सम्बन्धलाई एकदमै ब्यालेन्समा राख्नुपर्छ । हामीले छिमेकी मुलुकसँग सम्बन्ध राम्रो राख्ने मात्रै होइन तिनीबाट फाइदा पनि लिनसक्नुपर्छ ।
हाम्रो परराष्ट्र नीतिमा एकरुपता भएन, नेतापिच्छे, दलपिच्छे फरकफरक भयो भन्ने छ नि यसमा के भन्नुहुन्छ ?
यसमा चाखलाग्दो कुरा के भने परराष्ट्र नीति चाहीं हाम्रो एउटै छ कहिल्यै पनि परिवर्तन भएको छैन । जो परराष्ट्र नीतिसम्बन्धी बोल्ने आवाज हुन्छन् ती परिवर्तित हुन्छन् । त्यसमा कोही एकदमै राम्रो बोल्ने नेताहरु हुन्छन् उनीहरुले त्यसै हौवा फैलाइदिन्छन् । उत्तरको चीन, दक्षिणको भारत र वेस्टर्न ब्लक यी तीनवटा हाम्रो परराष्ट्र नीतिको ब्लकहरु छन् । त्यसपछि विदेशमा गएर बस्ने हाम्रा मान्छे कहाँकहाँ छन्, त्यसपछि हाम्रो राजनीतिक कल्चर कस्तो छ तिनले हामीलाई कस्तो गाइड गरेको छ । त्यसमा आधारित हाम्रो परराष्ट्र नीति हुन्छ । अहिले संसार ध्रुवीकरण भइरहेको बेलामा हामीले आफूलाई बचाएर नेपालको अलग पहिचान छ, त्यसलाई बलियो बनाएर अगाडि लानु हाम्रो अवसर चुनौती दुवै हो ।
सुदूरपश्चिका विकास समृद्धिका लागि ठूलो सम्भाव्यता भएका क्षेत्रहरु के के हुनसक्छन् ?
सुदूरपश्चिमलाई हेर्ने हो भने स्रोत, साधनहरु धेरै छन् । यसमा देशका महत्वपूर्ण नदी हामीसँग जोडिएका छन् । त्यसमा महाकाली, सेती र कर्णाली तीनवटा त हामीसँग ठुलठूला नदी छन् । प्राकृतिक रुपमा वनजंगलले भरिपूर्ण छ । धार्मिक तीर्थस्थलहरु छन् । संस्कृतिले भरिपूर्ण छ । हावा, पानी रितिरिवाज, मौलिक संस्कृतिसँगै भौगोलिक दृष्टिकोणले पनि सुदूरपश्चिम एकदमै धनी छ । खासमा मलाई भन्ने हो भने सुदूरपश्चिम शब्द पनि मन परेको छैन । किनभने हिजो राजा वीरेन्द्रले पाँच विकास क्षेत्रको अवधारणा ल्याउँदा एउटा पूर्व, पश्चिमभन्दा अलि टाढा भएकाले सुदूरपश्चिम भनेर नामाकरण गरिबक्सेको हो । तर, अहिले हामी सुदूर हो र ५५ मिनेटमै उडेर हामी काठमाडौं आइपुग्छौं । अनि कसरी सुदूर हुन्छ ? साथीहरुले मलाई गाली गर्नुहुन्छ होला सबैले मिलेर नामाकरण गर्नुभएको हो ।
त्यसोभए सुदूरपश्चिम प्रदेशको नाम नै परिवर्तन गर्नुपर्छ भन्ने तपाईंको सोच हो ?
हो । म त सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन हुनुपर्छ भन्ने लाइनमा हो ।
त्यसोभए अहिले कांग्रेस सरकारमा छ दुई मत पनि पुग्छ अनि अहिले नै प्रदेशको नाम परिवर्तन गरे भयो नि ?
त्यो कुरा मैले मात्रै भनेर हुँदैन । म त यहाँ विवाह गरेर आएकी हुँ नि त । किन भने यहाँको धर्म, संस्कृति, भौगोलिक पहिचानको बारेमा म भन्दा धेरै ज्ञान भएका साथीहरु हुनुहुन्छ । यो प्रदेशको नाम सेती, महाकाली भन्ने कि, खप्तड भन्ने कि यसको बारेमा बहस हुनुपर्छ । फेरि संविधानमा के लेखिएको छ पटकपटक नाम परिवर्तन गर्न मिल्छ कि मिल्दैन । तर व्यक्तिगत रुपमा भन्नुपर्दा चाहीं योभन्दा राम्रो नाम हुन सक्छ कि भन्ने लाग्छ । यो नामले चाहीं यहाँका जनतालाई हामी त टाढाका बिचरा भनेजस्तो हिनताबोध हुन्छ जस्तो लाग्छ ।
पछिल्लो पाँच वर्षयता नेपालमा गठबन्धनको राजनीति सुरु भएको छ, यसले विकासमा फाइदा या बेफाइदा के हुन्छ ?
विकासको कुरा गर्नुपर्दा पश्चिम सेती योजना अगाडि बढेको छ । सेती योजना सुरु हुँदा गठबन्धनकै सरकार थियो । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र जलस्रोत मन्त्री पम्फा भुसाल हुनुहुन्थ्यो । गठबन्धनकै पहलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग छलफल गरेर यो प्रोजेक्ट अगाडि बढेको हो । यो प्रोजेक्ट एकदमै च्यालेन्जिङ छ । राम्रो मित्रको नाताले भारत सरकारले हामीलाई सहयोग गरेको हो । त्यसकारण यस्तै गठबन्धनको सरकारले नै धेरै विकास निर्माणका कामहरु गर्न सक्छ । जुन चुनाव हुुनुभन्दा ठ्याक्कै अगाडि देउवा नेतृत्वमा बनेको गठबन्धन सरकार थियो त्यसले चाहीं धेरै फड्को मारेको छ ।
त्यतिबेला विगतमा रोकिएका विकास योजनाहरु अगाडि बढ्यो हो ?
हो । पहिला धेरै विकास निर्माणका कामहरु रोकिएका थिए । त्यो अगाडि बढेको छ । त्यसकारण राष्ट्रियता भनेको के हो ? छिमेकी गालीगलौज गर्ने, समाजमा चाहिने नचाहिने विषय उठाएर ढुंगा हान्ने राष्ट्रियता हो कि छिमेकीलाई रिझाएर विकास गर्नु राष्ट्रियता हो ? म महिला भएको नाताले पनि परिणाममुखी काममा विश्वास गर्छु स्लोगनको राजनीतिमा होइन ।
अहिले गठबन्धनलाई पनि उछिन्दै नयाँ पार्टीहरु उदाएका छन् तिनलाई के भन्नुहुन्छ ?
आउनुभएको छ तर उहाँहरुले नेपाललाई कहाँ लाने । उहाँहरुको परराष्ट्र नीति के हो ? विकासको नीति के हो ? उहाँहरुको पार्टीको सिद्धान्त के हो । त्यसकारण हाम्रो नीतिहरु यी हुन् देशलाई यहाँबाट राम्रो गर्न सकिन्छ भन्ने एउटा नीति त हुनुप¥यो नि ।
तर, गठबन्धन गरेर जाँदा पनि नेपाली कांग्रेसलाई उसैको किल्ला चितवन र तनहुँमा रास्वपाले नराम्रोसँग हरायो नि त्यसमा के भन्नुहुन्छ ?
चितवन त हाम्रो मात्रै किल्ला होइन लास्ट टामइमै उसले जितिसकेको हो । तनहुँ चाहिं नेपाली कांग्रेसको किल्ला हो । त्यो किल्लामा कांग्रेसको पाँच हजार भोट घटेको हो । डडेलधुरा र तनहुँको आँकडा एउटै रहेर श्रद्धेय नेता शेरबहादुर देउवाले २६ हजारले जित्नुभएको थियो । त्यहाँ समानुपातिक भोट २० हजार हाराहारी थियो । तनहुँमा पनि राष्ट्रपति रामचन्द्र पौडेलले २५ हजारले जित्नुभएको हो । समानुपातिक भोट २० हजार हाराहारी आएको थियो । त्यसकारण ५, ६ हजार भोट चाहीं नेताहरुले आफ्नो व्यक्तिगत प्रभावका कारण ल्याउनुभएको रहेछ । अब रवि लामिछानेको कुरा गर्ने हो भने त उहाँलाई मान्छेहरुले नेपालको कृष्ण अवतार नै भन्न थालिसकेका छन् । यसो भनिरहँदा मैले गाली खान्छु होला । नेता भएर फिल्डमा निस्किएपछि ढुंगा पनि खाइन्छ माला पनि लगाइन्छ ।
त्यसोभए रवि लामिछानेसँग अरुलाई गाली गर्ने बाहेक अरु कुनै एजेन्डा छैन हो ?
अहिले त मैले अरुलाई गाली गर्नेबाहेक उहाँहरुको कुनै एजेन्डै देखेको छैन । अहिले नै म क्रिटिसाइड गर्न चाहन्न उहाँहरुलाई पनि जनताले भोट दिएर पाल्र्यामेन्टमा पठाएका छन् । त्यहाँ उहाँहरुको पर्फमेन्स हेर्नुपर्छ ।
आफूलाई ठूला भन्ने पुराना दलहरु अब सच्चिने कि सकिने भन्ने प्रश्न पनि उठेको छ नि ?
सच्चिने कुन डाइमेन्सनमा र सकिने कुन डाइमेन्सनमा भन्ने छ ।
अब उम्मेदवारहरु चयन गर्दा सच्चिनुपरो भन्ने छ नि ?
के अब सबै लेलिबे्रटीहरु ल्याउने ? हाँस्य कलाकार, विश्व सुन्दरी, हिरो, मिस नेपाल, मोडल जस्तो सेलिब्रेटीहरु ल्याएर त्यहाँ राजनीति होला जस्तो मलाई चाहीं लाग्दैन । त्यस्ता व्यक्तिहरुलाई अपर हाउसमा ल्याउँदा राम्रो हुन्छ । इण्डियामा पनि हिरोइन, कलाकारहरु अपर हाउसमा ल्याउन चलन छ । त्यसहारण अहिले अब चाहीं बर्बादै भयो भनेर आत्तिहाल्नुपर्ने बेला आइसकेको छैन । योभन्दा पहिला पनि पार्टीहरुलाई थुप्रैले हराएका थिए नि । मधेसी आन्दोलनमा हाम्रा पार्टीका साथीहरु गए । अन्य थुप्रै पार्टी बनाए त्यहाँबाट चुनाव जिते हाउसमा बबाल मच्चाए । तर, पछि खोइत त्यत्तिकै हराएर गए ।
त्यसोभए यस्ता पार्टीहरु खहरे खोला जस्ता हुन् हो ?
मलाई चाहीं त्यस्तै लाग्छ । तर, अर्को चाखलाग्दो कुरा के हो भने जुन हाम्रा दलहरुले अहिलेसम्म एडे«स गर्न सकेका छैनन् । हामो मिडियाको अवस्था एकदमै ट्रेडिसनल छ । हाम्रो प्रिन्ट मिडियाको जेनेरेसन हो । हामीलाई टिकटक, फेसबुकभन्दा पत्रपत्रिका पढ्नुपर्ने हुन्छ । अहिलेका जेनेरेसन भनेका धेरै ज्ञाता दुई मिनेटको टिकटक र फेसबुकले सबैथोक थाहा पाउन सक्ने । त्यसको आधारमा डिसिजन दिने जेनेरेसनको कमाल हो रवि लामिछानेको पार्टी ।
विश्व डिजिटल युगमा प्रवेश गरिसक्यो तर हाम्रा नेताहरु पुरानै परम्परामा छन् हो ?
त्यसो हुनाले अब हाम्रो पार्टीले कसरी अहिलेको पुस्तासँग जोडिने र आफ्नो प्रोडक्ट सेल गर्ने भन्ने नीति लिन जरुरी छ । किन यो पुस्तालाई लागेको छ कि यो टिकटक, फेसबुक, मोबाइल जहिले पनि हुन्थ्यो तर हामीलाई पछाडि पारियो भन्ने लागेको छ । त्यसलाई हटाउनको लागि उनीहरुलाई चेतनाको आवश्यकता छ । हामी हिजोसम्म एउटा एसटीडी फोन गर्न कहाँकहाँबाट धाएर आउनुपर्ने थियो । त्यो जमानबाट हामीहरु आएका हौं । म अहिले पनि टिकटक प्रयोग गर्दिन । हामीहरु केही काम गरेपनि फोटो खिच्दैनौं । तर, अहिलेका नयाँ नेताहरु मन्त्रीले सचिवलाई थर्काएको पनि खिचेर हालेको छ । खाना खाएको पनि हालेको छ । अहिले हाम्रो नेपाली समाज तमासे छ । अर्काको तमासा हेरेर रमाउने । त्यसैले चुनावका बेला तमासा जसले बढी देखाए उनीहरुले भोट पाए । अहिले नेपाल समाज कस्तो भयो भने जो बढी अराजक हुन्छ उसले भोट पाउने भयो । तर, उसले जे बोलिरहेको छ, भोलि उसले पुरा गर्न सक्छ त ? हामी ट्रेडिसनल राजनीति गर्नेलाई नीतिनियमले बाँधिरहेको छ । त्यो नीति नियम र प्रणालीमा उहाँहरु छिरेर त्यसलाई तोड्न सक्नुहुन्छ भने उहाँहरुलाई म पनि समर्थन गर्न तयार छु । अब रवि लामिछानेले जितेर आउनुभएको छ गर्नुहुन्छ होला । अस्तिन गृहमन्त्री हुँदा टिभी लिएर जानुभएछ । त्यहाँका मान्छेहरुले के भने उहाँलाई ? उहाँलाई त्यहाँ तपाईं मन्त्रीको रुपमा आउनुभएको हो कि पत्रकारको रुपमा आउनुभएको भनेर प्रश्न गरे । उहाँलाई हिजो पत्रकारिता गरेको धङधङ्गी अझै छ । त्यही मन पराएर मान्छेहरुले भोट हालेका हुन् । तर, यसले देशलाई कहाँ पु¥याउँछ भन्ने प्रश्न चिन्ह चाहीं खडा भएको छ । रवि लामिछानेको पर्फमेन्स एकदमै राम्रो छ । तर राजनीति भनेको चाहीं अर्कै पाटो हो भन्ने लाग्छ ।
तपाईंले सुदूरपश्चिमको विकास र समृद्धिको लागि के कस्तो योजनाहरु ल्याउनु भएको छ ?
त्यसको बारेमा मैले पहिला पनि भनेकी छु । पहिलो कुरा त हामी बोर्डरमा बसेका छौं । खासगरी महाकाली नदीको बोर्डरमा बसेको मानिसहरुमा हाम्रो साइडबाट सरकारको नजर पुगेको छैन । यसलाई कसरी विकास गर्ने भनेर मैले ट्रान्स बाउन्ड्री रिभर अफ एशिया (टोसा) भन्ने प्रोग्राम ल्याएर ६, ७ वर्ष अगाडिदेखि कम्युनिटी लेभलमा काम गर्ने भनेर लागिपरेकी छु । त्योसँगै गत हप्ता हामीले यहाँ मानस खण्ड भन्ने ठूलो सम्मेलन गरेका छौं । त्यो सम्मेलन पनि यस क्षेत्रको विकास समृद्धिका लागि गरिएको हो । हामी एउटा देव भूमिमा बसिरहेका छौं । इण्डिया र नेपालको अन्तरसम्बन्ध र सांस्कृतिक, धार्मिक सम्बन्ध छ । त्यसलाई हामीले कसरी अगाडि बढाउने भनेर लागिपरेकी छु । त्यसैयगरी सुदूरपश्चिम धार्मिक र सांस्कृतिक क्षेत्रमा काम गर्ने भनेर पनि विभिन्न क्षेत्रसँग पहल गरेकी छु । त्यसैगरी सदूरपश्चिमलाई टुरिजमसँग कसरी जोडेर अगाडि बनाउने भनेर पनि लागि परेकी छु । हिजो कम्प्युटर बिग्रिएर ढिला भयो ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार १२:०९