काठमाडौँ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका भनाइमा मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाझैँ एकैपटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण शेखर–शशांक मन्त्री नबनेका भने होइनन् । कांग्रेसका यी ४ नेताले परिस्थितिजन्य कारणले मन्त्री नबनी एकैचोटि प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको आचार्य बताउँछन् ।
राणा–कांग्रेसबीचको द्वन्द्वका कारण प्रधानमन्त्री मोहन शमशेरले २००८ मा राजीनामा दिएपछि मातृकालाई प्रधानमन्त्री बन्ने अवसर जुरेको थियो । भट्टराईले पञ्चायती व्यवस्थाको अन्त्यलगत्तै अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । कोइरालालाई पनि २०४८ को आमनिर्वाचनमा काठमाडौँ–१ मा प्रधानमन्त्री भट्टराईको आकस्मिक पराजयका कारण प्रधानमन्त्री बन्ने अवसर जुरेको थियो ।
सुशील भने बहुदलीय व्यवस्थाकालमा मन्त्री बनेर सरकारमा जान तयार भइसकेका थिए । २०५६ मा कृष्णप्रसाद भट्टराईको राजीनामापछि दोस्रो पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले सुशीललाई सरकारमा लैजाने तयारी गरेका थिए।
‘खुमबहादुर खड्कालगायत केही नेताले प्रधानमन्त्री कोइरालालाई सुशील दा’लाई पनि मन्त्री बनाउन सुझाव दिए,’ आचार्य भन्छन्, ‘सुशीलले कांग्रेसका केही नेतालाई तस्करहरूले चलाएको भनेर खुला आलोचना गरिरहनुभएको थियो । त्यसैले, खड्कालगायत नेताले सुशीलबाट हुने आक्रमण रोक्न उहाँलाई मन्त्री बनाएर सरकारमा लैजाने सुझाव दिएका थिए।’
प्रधानमन्त्री कोइरालालाई पनि खड्काको सुझाव उपयुक्त लाग्यो । सुशीलले पञ्चायतकाल र बहुदलीय व्यवस्थाको पुनर्र्स्थापनापछि पनि कांग्रेसको विदेश विभागको जिम्मेवारी सम्हालिरहेका थिए ।
यही अनुभवका आधारमा प्रधानमन्त्री कोइरालाले सुशीललाई परराष्ट्र मन्त्रीका रूपमा सहयोग गर्न अनुरोध गरे । प्रधानमन्त्री कोइरालाको अनुरोधलाई सुशीलले पनि स्वीकार गरे ।
आचार्यका भनाइमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निवासमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले सुशीललाई परराष्ट्रमन्त्री हुन प्रस्ताव राख्दा उनी पनि साथैमा थिए ।
‘महाराजगन्ज (सुशीलको सम्पर्क कार्यालय) फर्केपछि मैले कांग्रेसभित्रकै अर्को समूहले असफल बनाउन भूमिका खेल्ने भएकाले मन्त्री नबन्न सुझाव दिएँ,’ आचार्यले थपे, ‘मेरो सुझावमा उहाँ राजी हुनुभयो। र, एकैपटक २०७० मा प्रधानमन्त्री बन्नुभयो ।’
२०७० मा प्रधानमन्त्री हुनुअघिसम्म सुशील मन्त्री नबन्नुका अन्य कारण पनि थिए । जस्तो २०४८–०६४ मा भएका ४ निर्वाचनमध्ये उनी २ वटा निर्वाचनमा मात्र विजयी हुन सके । २ पटक पराजित भए । २०४८ मा विजयी उनलाई गिरिजाप्रसादले मन्त्री बनाएनन् । परराष्ट्र मन्त्रालय आफ्नो साथमा राखेका प्रधानमन्त्री कोइरालाले परराष्ट्र मामिलामा सुशीलकै सुझाव ग्रहण गर्थे ।
२०५१ को मध्यावधि निर्वाचनमा भने उनी पराजित भए । सांसद नभएकाले ०५५ मा मन्त्री बनाउन सक्ने स्थिति थिएन । ०६६ मा कांग्रेसले अवसर पाउँदा सुशील, शेखर र शशांकको साटो सुजाताले अवसर पाइन् । किनकि, गिरिजाप्रसाद कोइरालालाई छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएर कांग्रेसको रोलक्रममा अगाडि लैजानु थियो ।
प्रकाशित: १८ चैत्र २०७९, शनिबार १४:४२