काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रूपमा विकास गर्न सकिने बताएका छन् ।
शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका हुन् ।
‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ,’ उनले भने ।
संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको भन्दै उनले त्यसअनुसार संघीय ऐनहरू बनिनसकेकाे बताए । सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूर्णता दिनेमा रहेकाे उनले सुनाए ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ । यसरी मात्र तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिन्छ । पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठुलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोसी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पूर्वाधार विकासमा ३ तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिए ।
प्रकाशित: १८ चैत्र २०७९, शनिबार १५:०७