कांग्रेसद्वारा पूर्वमन्त्री जोशी र कोइरालामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार १३:३१

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको पाण्डेको भनाइ छ । ‘बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरूको कारबाही फुकुवा भएको छ । यो वा त्यो व्यक्तिभन्दा पनि नीतिगत निर्णय गरेका हौँ। यसमा बागी र स्वतन्त्र उठ्नेहरू पर्नुभएको छ ।’

२०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि विकास कोइरालामाथि कारबाही भएको थियो ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार १३:३१