मार्चमा करिब एक लाख पर्यटक भित्रिए


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार १४:२४

काठमाडौँ– गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४ सय ५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६ सय ४३, यूरोपबाट २३ हजार २ सय ६५, एसियन राष्ट्रबाट तीन हजार ९ सय ५८ जना पर्यटक नेपाल आएका छन् ।

साथै क्यानडाबाट एक हजार ७ सय ७, अमेरिकीबाट ९ हजार ५ सय ५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३ सय ७५ पर्यटक नेपाल भित्रिएका छन् ।

यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९ सय ११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।

अमेरिकाबाट गत वर्षको सोही अवधिमा ४ हजार ८ सय ९६ पर्यटक आएकोमा यसपटक ८ हजार ५ सय ५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार १४:२४