रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट पेस


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार १६:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको हो ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ ।

रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताए ।

प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।

नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसद पद गुमाएका थिए ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार १६:३२