चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार १६:५९

महेन्द्रनगर– एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका ४ पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ ।
आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।

यहाँका ४ वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिए । २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र २० महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उनले बताए ।
‘एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा ८ सय १३ रुख कटान गर्नुपर्ने छ’, यादवले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रियामा छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले प्रशोधन केन्द्र निर्माणका लागि जमिन खोजिरहेको बताए ।

‘केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ । जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गर्दैछ’, उनले भने । पालिकाले उत्तरतर्फको चुरे फेददेखि ब्रह्मदेव हुँदै वडा नं १९ बागफाँटासम्म प्रशोधन केन्द्रका लागि जग्गा हेरे पनि अन्तिम टुङ्गो भने लाग्नसकेको छैन ।

पालिकाले जग्गा पहिचान र प्राप्तिका लागि केही समयअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको प्रवक्ता खड्काको भनाइ छ ।

भीमदत्त नगरपालिका क्षेत्रको बजार र मझगाउँसम्मको सडक, फुटपाथ, नालीलगायत संरचनाको कामले भने गति लिएको छ । सडक निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीका इञ्जिनियर भुपेन्द्र सिंहले योजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार पूर्वाधार निर्माण अन्र्तगत करिब १४ किलोमिटर सडक, नाली, पुटपाथ लगायत संरचना बनिरहेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीमार्फत यहाँका ४ पालिकामा सडक तथा प्रशोधन केन्द्र निर्माणको काम भइरहेको इकाइका इञ्जिनियर सञ्जीव कुमार शाहले बताए ।

उनले गोदावरी नगरपालिकामा प्रशोधन केन्द्रका लागि रुख कटानको काम सकिएर अन्य संरचना निर्माण भइरहेको जानकारी दिए । ५१ करोड लागतमा निर्माण हुन लागेको उक्त केन्द्रको निर्माण अवधि २ वर्ष ४ महिना तोकिएको छ ।

त्यस्तै, धनगढीमा प्रशोधन केन्द्र निर्माणका लागि रुख कटान आदेश प्राप्तिको प्रक्रियामा रहेको इञ्जिनियर शाहको भनाइ छ ।

प्रकाशित: १९ चैत्र २०७९, आईतवार १६:५९