काँग्रेसले उप निर्वाचनको मुखमा कारबाही फुकुवाबारे जोशी गरम, कोइराला नरम


तरुण पत्रिका

१९ चैत्र २०७९, आईतवार २२:०१

काठमाडौ ।आइतबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्वसभापति विकास कोइरालालगायतका नेता–कार्यकर्तामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो। वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई २०७४ मा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको अरोपमा कांग्रेसले २०७५ पुस २४ मा अनुशासन कारबाही गर्दै ५ वर्षका लागि साधारण सदस्यबाट हटाएको थियो। ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। तर, उनले ६ हजार ८ सय ७८ मत मात्रै ल्याएका थिए। २०८० साल पुस २४ सम्मलाई कांग्रेसले जोशीलाई कारबाही गरेको थियो। तर, अवधि अगावै कांग्रेसले कारबाही फिर्ता लियो। तर, जोशी कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णयप्रति सकारात्मक सुनिएनन्।

जोशीले कारबाहीमा परेको र फुकुवा भएको विषयमा आफूलाई सूचना नदिइएको बताए। ‘मलाई कारबाही गरेको पनि अहिलेसम्म सूचना आएको छैन। फुकुवा भएको हल्ला सुनेको छु,’ उनले भने, ‘म अहिले कांग्रेसको सदस्य छैन। मसँग वार्ता गरेर कुरा मिलेको भए मेरो बारेमा निर्णय गर्नु उचित हुन्थ्यो। त्यसै निर्णय गर्नु यो जालझेलपूर्ण हो, मलाई कुनै सरोकार छैन यसमा।’ यद्यपि यसपालिको उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन्। जोशी उम्मेदवार नबन्दा आफ्नो पक्षमा माहोल बनाउन सकिने विश्वास कांग्रेसको छ।

करिब १० वर्ष कारबाही खेपेका विकास कोइरालाले भने न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनलाई २०७० सालको संविधान सभा निर्वाचनमा चितवन–४ ९तत्कालीन निर्वाचन क्षेत्र०मा पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले कारबाही गरेको थियो। उनले पटक–पटक कारबाही फुकुवाको माग समेत गर्दै आएका थिए। उनले पार्टीले कारबाही फुकुवा गर्ने निर्णयलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए।

‘पार्टीभन्दा बाहिर भइन्छ भनेर थाहा पाउँदापाउँदै मैले उम्मेदवारी दिएको थिएँ। ६ वर्षभन्दा बढी बाहिरै भएँ। विभिन्न कारणले मलाई थप ४ वर्ष यत्तिकै कारबाही गरेर राखियो,’ उनले भने, ‘ढिलै भएपनि कारबाही फुकुवाको निर्णय भएको छ। यसलाई सकारात्मक रुपमा लिएको छु। म कारबाहीमा परेपनि कहिल्यै विचलित भइनँ। पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोहीअनुसारको जिम्मेवारी पूरा गर्छु।’

प्रकाशित: १९ चैत्र २०७९, आईतवार २२:०१