यो वर्षका योजना समयमै कार्यान्वयन गर्नेः कर्णालीका स्थानीय सरकार


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १३:०८

सुर्खेत÷भेरीगङ्गा – कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् ।

चालु आर्थिक वर्षको ८ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए ।

अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ । उनले भने, ‘बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असार अगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ ।’

नगरपालिकाबाट विनियोजित २ सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले दिए । उक्त नगरपालिकाले चालु आवमा ११ करोड पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो ।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९÷८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि ९ करोड विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए । ‘भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ’, उनले भने ।

सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ

 

प्रकाशित: २० चैत्र २०७९, सोमबार १३:०८