वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १५:२९

उदयपुर– उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ ।

यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने वृहत योजना सुरु भएको बताए ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा रु १ अर्ब ५८ करोड १६ हजार ५ सय ५० लागतमा आयोजनाको कार्य सुरु भएको हो ।

फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन् । योजनाको पहिलो चरण्मा ट्याङ्की निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ ।

दोस्रो चरणमा ३ वटा स्थानका ठूला ट्याङ्कीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ । योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै ३ हजार, रौतामाका २ हजार र ताप्लीका ३ हजार ५ सय घरपरिवार लाभान्वित हुनेछन् ।

विसं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन ।

आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने १ प्रतिशत रकम गाउँपालिकामार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताएका छन् ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार १५:२९