काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो ।
सरकारले १०० दिनमा आफ्नो उपलब्धि ३७ बुँदामा समेटेको छ । सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए ।
प्रकाशित: २० चैत्र २०७९, सोमबार १७:०२