काठमाडौँ– चितवन २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल सफलको उजुरी नलाग्ने भएको छ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए।
मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो।
लामिछानेविरूद्ध पौडेलबाहेक चितवन २ मै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए।
लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो । तीन उम्मेदवारको उजुरी लाग्ने भए पनि पौडेलले भने उजुरी दिनै नपाउने भएकाले नलाग्ने भएको हो।
यसअघि उनले नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।
अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको हो ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार १३:५६