काठमाडौँ । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धकाे मुद्दामा कारण देखाऊ आदेश दिएकाे छ ।
बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा लामिछानेमाथि मुद्दा नचलाउनुकाे कारण मागेकाे हाे ।
बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
पौडेलले दायर गरेको उक्त रिटमा लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउन अन्तरिम आदेश माग गरिएकाे थियाे । तर सर्वाेच्चले अन्तरिम आदेश भने दिएन ।
पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछानेसमेत गरी ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
राहदानी दुरुपयोगको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालयले यसअघि लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार १७:५४