काठमाडौं। आगामी बैशाख १० गते देशका बिभिन्न तीन वटा क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन हुने क्षेत्रहरूमा बारा-२, चितवन-२ र तनहुँ-१ रहेका छन्।
यस पटक प्रतिनिधिसभाको सदस्यका लागि बारा-२ मा हुने उपनिर्वाचन निकै रोचक हुने देखिएको छ। गत मंसिर ४ गतेको निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा पराजय भोगेकाहरू पुनः जितको आशासहित बारा-२ मा पुगेका छन्।
बारा-२ मा ३७ जनाले उम्मेदवारी दर्ता गराए पनि गत निर्वाचनमा पराजय भोगेका रमेश खरेल, उपेन्द्र यादव र शिवचन्द्रप्रसाद कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। खरेल काठमाडौं-१ बाट, यादव सप्तरी-२ बाट र कुशवाहा बारा-२ बाटै पराजित भएका थिए।
कस्तो छ उपेन्द्रको अवस्था?
मधेसबाट प्रतिनिधित्व गर्दै सधैं सत्तामा रमाइरहने व्यक्तिको अग्रपंक्तिमा आउने नाम हो उपेन्द्र यादव। गत प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका यादव यतिबेला उपनिर्वाचन जितेर पुनः शक्ति केन्द्रमा पुग्न चाहन्छन्।
सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उपेन्द्र यादव संसद्को यही कार्यकालमा सांसद बन्न प्रयासरत छन्। प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन बिना अर्को विकल्प नभएकै कारण सांसद पद रिक्त गराउनका लागि जसपा अध्यक्ष यादवले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले उपराष्ट्रपति पद दिनुपर्ने माग गरेका थिए। उनको उक्त प्रयास सफल पनि भयो। बारा-२ बाट विजयी रामसहायप्रसाद यादव गठबन्धबाट उपराष्ट्रपति बने। त्यसपछि उपेन्द्रलाई उम्मेदवार बन्न बाटो खुलेको हो। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन छ।
यादव सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए। यसपटक पनि उनलाई जनमत नै बढी बाधक हुने देखिएको छ। लगातार दुई पटक चुनाव जितेका यादवलाई उपराष्ट्रपति बनाएर उनको स्थानमा यादवले आफ्नो भाग्य अजमाउन खोजे पनि जनमतका उम्मेदवार कुशवाहा बाधक बन्ने देखिएका छन्। किनकी उनी उपराष्ट्रपति यादवसँग थोरै मतान्तरले पराजित भएका थिए।
को हुन् रमेश खरेल?
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा-२ मा उम्मेदवारी दिएका खरेल नेपाल प्रहरीका पूर्वडीआईजी हुन्। २०७८ साल मंसिर २४ गते खरेलले नयाँ राजनीतिक पार्टी घोषणा गरेका थिए। खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्दै देश सुहाउँदो सुशासनलाई प्रमुख एजेण्डा बनाउने दाबी गरेका थिए।
खरेल गत ४ मंसिरमा काठमाडौं क्षेत्र नम्बर १ मा पराजित भएका थिए। चैत १८ गते रास्वपा प्रवेश गरेका खरेल सोही पार्टीबाट बारा–२ मा उपनिर्वाचन लड्ने भएका हुन्।
उनी रास्वपाप्रतिको आकर्षण बटुल्दै जसपा र जनमतबीचको प्रतिस्पर्धाको फाइदा उठाउँदै निर्वाचन जित्ने दाउमा छन्। मनोनयन दर्ता गर्दा खरेलले मधेसका नागरिकले राम्ररी शिक्षा नपाएको बताउँदै बारा–२ मा जिते मुलुकमा सुशासन, शिक्षा र सुरक्षाका लागि काम गर्ने बताएका थिए।
बलिया कुशवाहा
जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहा पनि पराजित अनुहार हुन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका कुशवाहाको त्यो आफ्नो निर्वाचन क्षेत्र हो। उनी यसअघि सोही क्षेत्रमा माओवादीबाट चुनाव लडेका थिए। तर, ३५४ मतले पराजित भए।
यसपटक उक्त क्षेत्रमा माओवादीले आफ्नो उम्मेदवार नउठाएर जसपाका उपेन्द्र यादवलाई समर्थन गर्ने भएपछि उनी रुष्ट बनेका थिए। त्यसपछि माओवादी केन्द्र छाडेर चैत १५ गते कुशवाहा सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरे। उनले उपेन्द्र यादवलाई जनताको भावना विपरीत काम गर्ने र पदलोलुप सत्ताबिना बाँच्नै नसक्ने व्यक्ति भएको बताउँदै जनमत आफूतर्फ तान्न ध्यान केन्द्रित गरिरहेको देखिन्छ।
यसरी बारा–२ मा पराजित नेताहरू नै चुनावमा होमिएका छन् र उनीहरूले एकअर्कालाई दोषारोपण र आरोपप्रत्यारोप लगाउँदै आफ्नो पक्षमा जनाधार सिर्जना गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ।
चितवन-२ मा रास्वापाका अध्यक्ष रवि लामिछानेको सांसद पद गएर तथा तनहुँ-१ मा रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १२:२४