हेटौँडा । मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ ।
पूर्वाधार विकास कार्यालय र नागार्जुन-शकरमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलका लागि २ पटक म्याद थप गरिएको थियो । म्याद थप गर्दा पनि हालसम्म निर्माण कार्य अगाडि नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई ३ वर्षका लागि कालो सूचीमा समेत राख्ने निर्णय गरेको हो ।
नागार्जुन—शंकरमाली जेभीले तोकिएको समयभित्र निर्माण गर्न नसकेपछि प्रथम पटक २०७५ चैत २६ गते ३ महिना ४ दिनका लागि समय थप गरिएकामा काम हुन नसकेपछि २०७६ फागुन ८ गते पुनः १ वर्षका लागि समय थप्दा पनि हालसम्म काम नभएकाले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
जनताको जनजीवनसँग जोडिएको विकासका पूर्वाधार निर्माणमा पटकपटक समय थप्दा पनि काम नभएपछि रद्द गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
प्रदेश सरकारसँग पहुँचको आधारमा काम छल्ने कार्य अब अन्त्य हुने मन्त्री दुलाललले बताए । कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउँदासमेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानीमा सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्री दुलालले बताए ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौताअनुसारको लागत रकम ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँ ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैँक ग्यारेन्टी रकम २६ लाख ९० हजारसमेत जफत हुने जनाएको छ ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १४:३६