मेलम्चीको पानी वितरण गर्न पाइप बिछ्याइँदै


तरुण पत्रिका

२३ चैत्र २०७९, बिहीबार १६:४३

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप  बिछ्याउन बाँकी स्थानमा पाइप बिछ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले बिछ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।

यसअघि एसियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिछ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप बिछ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनले भने, ‘पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ ।’

चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलंकी, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने काम भइरहेको छ । उनले भने, ‘पाइप बिछ्याइसकेपछि परीक्षण गर्न १ वर्ष लाग्न सक्छ । परीक्षणपछि नियमित पानी वितरण गरिनेछ ।’

पहिलो चरणमा १ हजार १० किमी पाइप बिछ्याइको थियो । ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ । परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एसियाली विकास बैंकले सहयोग गर्दै आएको छ । हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप बिछ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १६:४३