काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेलाई महाभियोग लगाउन सक्ने बताएका छन् ।
बिहीबार पार्टी निकट कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा बहुमतको दम्भ रहेको भन्दै सभामुख घिमिरेलाई महाभियोग लगाउन सक्ने आशंका व्यक्त गरेका हुन् ।
‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन,’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् । किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरूसँग त बहुमत छँदै छ । लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
ओलीले राज्य जनताको पक्षमा नरहेको बताए । ओलीले भने, ‘यसभन्दा अघि पार्लियामेन्टमा एकजना सभामुख देख्यौँ । एउटा पक्षको प्यादाको रूपमा काम गर्नुभयो उहाँले । पार्टी विशेषको प्यादा बन्नुभयो ।’
अहिलेकै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको ओलीले बताए । महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर ६ महिनासम्म दराजमा थन्क्याएर राखेको पनि उनले बताए ।
प्रकाशित: २३ चैत्र २०७९, बिहीबार १७:०४