विदेशमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न सफल भयौँ : रविना थापा


तरुण पत्रिका

२४ चैत्र २०७९, शुक्रबार १०:२९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले आफ्नो कार्यकालमा गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, मेघा प्रोजेक्ट, ब्लड बस, संस्थागत विकास तथा आन्तरिक व्यवस्थापनलाई प्राथमिकतासाथ अघि बढाएको बताएकी छिन् । आफ्नो  कार्यकालको कार्यकारी भुमिका सम्पन्न गरेकि थापाले मेघा परियोजनाअन्तर्गत मोबाइल ब्लड बस, स्मार्ट शौचालय परियोजना, लगानी, वृद्धाश्रमलगायत परियोजनामा आवश्यक काम सुरु गरेको बताएकी छिन् ।

गत वर्षको मार्चमा भएको एनआरएनको महाधिवेशनले रविनासहित कुल आचार्य र डा. बद्री केसीलाई अध्यक्षमा चयन गरेको थियो । संघमा भएको विवादका कारण ३ जनालाई नै अध्यक्ष बनाउँदै ६/६ महिना आलोपालो कार्यकारी अधिकार प्रयोग गर्ने महाधिवेशनले म्यान्डेट दिएको थियो । सुरुको ६ महिना कुल आचार्यले नेतृत्व गरे भने दोस्रो ६ महिनाका लागि रविनाले नेतृत्व गरेकी थिइन् । आज (शुक्रबार) उनले अर्का अध्यक्ष बद्री केसीलाई पदभार हस्तान्तरण गर्दै छिन् ।

आफ्नो ६ महिने कार्यकाल पूरा गर्दै पद हस्तान्तरण गर्न लागेकी थापाले आफू नेतृत्वको संघले यसबीचमा गरेका कार्यहरू सार्वजनिक गरेकी छिन् । गत अक्टोबरबाट कार्यभार सम्हालेकी उनले सुरुको महिना संघको वार्षिक साधारणसभा गरेकोदेखि संघअन्तर्गतको महिला विभागको सक्रियतामा ५ हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरी आवश्यक कार्य अगाडि बढाएकोसम्म काम गरेको बताएकी छिन् ।

गैरआवासीय नेपाली दिवसको अवसरमा संघले ग्लोबल कन्क्लेभको आयोजना गर्‍यो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको कन्क्लेभको समापन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । यस्तै, उनको कार्यकालमा संघले गैरआवासीय नेपाली नागरिकता विधेयकबारे विभिन्न राजनीतिक दलका नेता तथा सांसदसँग छलफल गरेको थियो । दलहरूले नयाँ सरकारले सो माग पूरा गर्ने प्रतिबद्धता जनाएको थापाले जानकारी दिइन् । संघकै पहलमा गैरआवासीय नेपालीको सामूहिक लगानीका लागि कानुनी जटिलता हटाउँदै सरकारले वैदेशिक लगानीमा न्यूनतम ५ करोडको सीमा घटाउँदै २ करोड रूपैयाँ कायम गरेको छ ।

यस्तै, रविनाकै कार्यकालमा अक्टोबरमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितमा संघले पनि भाग लिएको थियो । सो प्रतियोगितमा संघको टोलीले १० स्वर्ण, ९ रजत र ७ गरी २६ पदक हात पार्न सफल भयो । केही समय बन्द भएको संघको मुखपत्र ग्लोबल एनआरएनए उनकै पहलमा पुनः प्रकाशन सुरु भयो भने नेपालमा पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य स्थान खोज्ने उद्देश्यले पोखरा र गाईघाटमा पर्यटन अभियानसमेत सञ्चालन गर्‍यो ।

यस्तै, गत नोभेम्बरमा मध्यपूर्वका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न संघ सफल भयो । मासिक ६ हजारभन्दा बढी श्रमिक कोषमा जोडिइरहेको थापा बताउँछिन् । यसले विश्व श्रम बजारमा नेपालीले बगाएको पसिनाको केही अंश सामाजिक सुरक्षा कोषमार्फत बचत हुने बाटो खुलेको उनको भनाइ छ । ‘हामीले लामो समयदेखि विदेशमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्छ भनेर अभियान नै चलायौँ,’ उनले भनिन्, ‘मध्यपूर्वबाट यसको सुरुआत भएको छ । अब विश्वभरमा नेपाली श्रमिक यसमा जोडिने बाटो खुलेको छ ।’

यस्तै, गत ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संघले पहिलो पटक पर्यवेक्षकका रूपमा सहभागिता जनाएको थियो । यस्तै, डोटीमा गएको भूकम्पमा परी गुमाउनेका परिवारको सहयोगका लागि संघले ५ लाख रुपैयाँ प्रदान गरेको थियो । नेपालीहरूका चाडपर्वहरूको शुभकामना आदानप्रदानसहित काठमाडौँमा रहेका गैरआवासीय नेपालीबीच भेटघाट गर्ने उद्देश्यले चियापान तथा स्वागत कार्यक्रमसमेत संघले आयोजना गर्‍यो । यसले गैरआवासीय नेपालीप्रति संघको निकटता अझ बढेको उनको बुझाइ छ ।

यस्तै, गत नोभेक्बरमा कास्कीमा नेपाल रेडक्रस सोसाइटीको निर्माणाधीन ब्लड बैंकका लागि एनआरएनए जापान र कास्की समाज जापानको सहयोगमा संघले २० लाख रुपैयाँ लागतमा ब्लड कोल्ड रुम बनाउने सम्झौतासमेत गर्‍यो । यस्तै, आफूले संघको केन्द्रीय कार्यालयमा चौबिसै घन्टा टेलिफोन हटलाइन सुरु गरेको जानकारी दिइन् ।

सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गर्ने काममा पनि थापाको सक्रिय सहभागिता रह्यो । यस्तै, ४ मंसिरको चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई भेटी संघले उठाएका कतिपय विषय सम्बोधनका लागि ध्यानाकर्षण गराइएको उनले बताइन् ।

यस्तै संघले निरन्तर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिरहेको छ । मिर्गौला, मधुमेह, मुटु रोग र उच्च रक्तचापसम्बन्धी रोगका बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि उपचारको व्यवस्था स्वास्थ्य समितिबाट भइरहेको थापाले बताइन् ।

यस्तै, संघको नेपाली सामग्री प्रवद्र्धन समितिको आयोजनमा विश्व बजारमा नेपाली सामग्रीको आवश्यकता, चुनौती र सम्भावनाबारे युरोप र एसिया क्षेत्रका राजदूत तथा अभियन्तासँग अन्तक्र्रिया गरिएको छ । सो अन्तक्र्रियामा थापासहित अर्का अध्यक्ष बद्री केसी सहभागी थिए ।

यस्तै, पर्यटन प्रवद्र्धनमा पनि संघले उल्लेख्य काम गरिरहेको छ । साइकल यात्राबाट नेपाललाई विश्वमा चिनाउने अभियानमा रहेका विश्व साइकलयात्री ज्ञान महर्जनलाई संघले एनसिसी चीनको सहयोगार्थ प्राप्त भएको साइकल प्रदान गरे । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई भेटेर अध्यक्ष थापाले गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताका लागि पहल गर्न आग्रह गरेकी थिइन् । तर केही समयपछि लामिछानेको पद खारेज भएसँगै त्यो मुद्दा ओझेलमा परेको छ । यस्तै उनले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग पनि भेटेर नागरिकताका विषयमा ध्यानाकर्षण गराएकी थिइन् ।

यस्तै, वैदेशिक रोजगारी र मानव बेचविखनसम्बन्धी समस्या समाधानका लागि थापाले पहल गरिन् । मानव बेचविखनविरुद्ध श्रम मन्त्रालयसँग सहकार्यका विषयमा छलफल गरेको उनी बताउँछिन् ।

यस्तै, गत ४ जनवरीमा पोखराको महेन्द्र पुलमा स्मार्ट शौचालय निर्माणका लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच सम्झौता भएर काम अघि बढेको छ । १६ जनवरीमा संघका ३ जनै अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनमा नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआर–एन नेपाल डेभलपमेन्ट फन्ड’लाई अघि बढाउन देखापरेका कानुनी र व्यावहारिक कठिनाइ, एनआरएन ऐनलगायत विषय समेटिएको थापाको भनाइ छ ।

लगत्तै १७ जनवरीमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई भेटेर संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरियो । भेटमा गैरआवासीय नेपालीहरूको लगानी अभिवृद्धि, डलर खाता सञ्चालनमा देखापरेका प्राविधिक समस्या, बहुसंख्यक नेपालीलाई नेपालसँग जोड्न र मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन पुँजीसहित उनीहरूको ज्ञान, सीप र क्षमता भिœयाउन नेपाल सरकारले चाल्नुपर्ने कदम लगायतका सम्बन्धमा छलफल भएको उनी बताउँछिन् । यस्तै संघले तत्कालीन ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरी गैरआवासीय नेपालीको लगानीबारे छलफल गरेको थियो ।

यस्तै संघको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेट गरी विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न ध्यानाकर्षण गराउने र डायस्पोरामार्फत नेपाली कला संस्कृति तथा पर्यटन प्रवद्र्धनलगायत सरोकारका विषयमा छलफल गर्ने काम गर्‍यो । तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भवगती चौधरीलाई भेटेर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका विशेषतः घरेलु कामदार महिलाहरूले भोग्नुपरेको समस्या, विविध कारण विदेशका जेलमा रहेका महिलाको अवस्था लगायत वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका नेपालीको पुनर्एकीकरणसहित, उनीहरूका लागि स्वरोजगारका योजना कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गरायो ।

गत फ्रेबुअरीमा संघको टोलीले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गरी गैरआवासीय नेपाली नागरिकताका विषयमा ध्यानाकर्षण गरायो । यस्तै संघले टर्कीमा गएको भूकम्पका पीडितहरूको सहयोगका लागि ५ हजार डलर आर्थिक सहयोग गर्‍यो । टर्कीका राष्ट्रपतिलाई भूकम्पमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलीसहित समवेदना पत्र पठाउँदै सहयोग रकम हस्तान्तरण गरेको थापाले बताइन् ।

यसबीचमा संघले विधान संशोधन गरी परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरणसमेत गरायो । यस्तै संघको टोलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी गैरआवासीय नेपालीले भोग्नुपरेका समस्यबारे जानकारी गराएको छ । श्रम सचिव एकनारायण अर्यालसँग भेट गरी वैदेशशिक रोजगार तथा सामाजिक सुरक्षा कोषबारे छलफल गरेको संघले १७ मार्चमा संघका पदाधिकारी, एनसिसीका प्रतिनिधिबीच गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छलफल गर्‍यो । यस्तै सरकारले आयोजना गरेको वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा सहभागी हुँदै अध्यक्षद्वय थापा र आचार्यले लामो समयदेखि संघले उठाउँदै आएको सामाजिक सुरक्षा कोषको योजना सफल भएकामा धन्यवाद दिए ।

यस्तै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका क्रममा सुरु गरिएको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारीसाधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्रीहरू राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको थापाले जानकारी दिइन् ।

आज कार्यभार हस्तान्तरण गरे पनि आफू संघको विकास र गैरआवासीय नेपालीका लागि सदैव तत्पर रहने थापाले बताइन् । कार्यकारी अधिकारमा रहने बद्री केसीको कार्यकालमा संघले उठाएका मुद्दा सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । यो ६ महिनाको अवधिमा आफ्नो नेतृत्वलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि संघको सफलताका लागि हातेमालो गर्न सबैलाई अनुरोध पनि गरेकी छिन् ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार १०:२९