काठमाडौं । अख्तियार प्राप्त व्यक्तिहरु गर्नैपर्नेभन्दा गर्न नहुने काममा संलग्न रहने देशका रुपमा चित्रित हुँदै गएको छ नेपाल । यहाँ जसले जुन जिम्मेवारी पाएको छ, त्योचाहिँ गर्दैन । जे नगर्नुपर्ने हो त्यसैमा निर्लिप्त हुन्छ । नागरिक सेवा भन्ने राजनीति, देशको सबैभन्दा ठूलो नाफाखोरी उद्योगका रुपमा परिणत भएको छ । राजनीतिलाई सर्वकालिक उद्योग बनाएर त्यहीँबाट अकूत कमाउनेहरुको राज छ, अहिले । यसका लागि न कुनै लगानी, परिश्रम, सीप लगाउनु नै पर्छ, न त कुनै जोखिम नै मोल्नुपर्छ । त्यसैले त, अनेकन जोखिम उठाएर उद्योगधन्दा, व्यापार व्यवसाय गर्छु भन्ने उद्योगी व्यापारीहरु हिजोआज आफ्ना पेशा व्यवसायलाई छाडेर राजनीतिलाई पेशा बनाउन आइपुगेका छन् । नेताहरु तिनैलाई पद बेचेर अकूत धन कुम्ल्याइरहेका छन् ।
जब तमाम जोखिम उठाएर गरेको पेशा व्यवसायभन्दा बिना सीप, श्रम, लगानी र जोखिम राजनीतिबाट बढी कमाई हुन्छ भने कोही कसैले किन गरोस् उद्योग व्यवसाय ? अर्थात् गरेकैले पनि त्यही राजनीतिलाई तस्करीको माध्यम बनाएकाहरुलाई नै किन्छ नि । यस्ता बिचौलियाजिबी राजनीति भएपछि कोही किन नहोस् व्यवसाय शुरु गरेको एकाध वर्षमै मालामाल ? बिचौलियाले तोकेको दरभाउमा बिक्री हुने राजनीति, कर्मचारी प्रशासन भएपछि कोही कसैले किन गरोस् कानून, नियमको पालना ?
जब देशलाई नेतृत्व गर्ने राजनीति र राजनीतिलाई हाँक्ने नेताहरु नै बिचौलियाले थापेको हाटबजारमा खुलेआम खरिदबिक्रीका लागि लाम लाग्न पुग्छन् भने त्यो देशको बाँकी संयन्त्र कुन अनुशासनमा बाँधिएलान् ? त्यसैले त कार्यकारीको स्वेच्छाचारिता नियन्त्रण गर्न स्थापित संवैधानिक निकायका अधिकारीहरु बहिखाता बोकेर अनधिकृत कर उठाउने जगातका मुखिया बन्न पुग्छन् । परिणाम न्यायको डण्डा बोकेर बसेका न्यायालय र न्यायाधिकारीका काउचसम्म पुग्ने बिचौलिया, दलालहरुलाई रोक्ने कोही हुन्न । बेलगाम उन्मक्त साँढे बनेर राज्यसत्ताको दोहन हुन थाल्छ ।
त्यसैको परिणाम, मुलुकको गृहमन्त्रीहरु नै मानव तस्करीमा लाग्छन् । शुक्रबारको कान्तिपुरले देशका पूर्वगृहमन्त्री नै मानव तस्करीमा लागेको समाचार छापेको छ । पूर्वगृहमन्त्री समेतको संलग्नतामा अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खेल भएको समाचार सत्य हो भने त्योभन्दा दूर्भाग्य देशको अनुहारका लागि के होला ?
समाचार अनुसार, गिरोहसँग लामो सम्बन्ध रहेको आरोपित मध्येका एक एमाले सचिव टोपबहादुर रायमाझीले त, हेलिकोप्टरमा गोसाइँकुण्डसहित विभिन्न ठाउँमा घुमेको र ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण नै दिएका छन् । प्रहरीले गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक नै बरामद गरेको छ ।
देशमा पछिल्ला वर्षमा फैलिएको अराजकता र विधिविहीन दण्डहीनतामा टेकेर राजनीतिक नेता र तिनलाई घुमाउने बिचौलियाहरुले राज गरिरहेका छन् । जब गृहमन्त्रीदेखि गृहमन्त्रालयको संयन्त्र मानव बेचबिखनको तस्करीमा लाग्छ भने कुन निकायसँग न्यायको अपेक्षा गर्ने ? यसबाट मुलुकको अनुहार वैश्विक रुपमा कस्तो देखिएला ? पैसाबाहेक केही नदेख्ने द्रव्य पिशाचहरु शासनसत्ताको शीरमा पुग्ने, नाङ्गो नाच देखाउने र तिनलाई दण्डको दायरामा ल्याउने हिम्मत कुनै निकाय र व्यक्तिसँग नरहने हो भने कानून कथित ठूलाबडाको लँगौटीमा सीमित रहन पुग्छ, चेतना भया !
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा निरज मात्र गिरोहमा संलग्न रहेको नभई गृहमन्त्री थापाका छोरा प्रतीक पनि उक्त गिरोहमा रहेको भन्दै उजुरी परेको खबर कान्तिपुरले छापेको छ । कान्तिपुरका संवाददाता देवेन्द्र भट्टराईले लेखेका छन्, ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको छ ।’ समाचारमा उल्लेख छ, ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।’
धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि अलपत्र केही शरणार्थीको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा तत्कालीन गृह सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको र त्यही बेला राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको कान्तिपुरको दाबी छ । गिरोहले ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको, यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको एवं गिरोहले केहीलाई शरणार्थीका रूपमा नक्कली कार्ड नै बनाइदिएको कान्तिपुर लेख्छ ।
समाचारका अनुसार, ‘पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ । दुलाल कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला निजी सहायक थिए । दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले १० दिनअघि पक्राउ गरिसकेको छ । उनीहरूबाट बरामद कागजपत्रले राजनीतिक नेतृत्वको संरक्षण रहेको पुष्टि गरेको छ । एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका छन् ।’
हो, देशमा पछिल्ला वर्षमा फैलिएको अराजकता र विधिविहीन दण्डहीनतामा टेकेर राजनीतिक नेता र तिनलाई घुमाउने बिचौलियाहरुले राज गरिरहेका छन् । जब गृहमन्त्रीदेखि गृहमन्त्रालयको संयन्त्र मानव बेचबिखनको तस्करीमा लाग्छ भने कुन निकायसँग न्यायको अपेक्षा गर्ने ? यसबाट मुलुकको अनुहार वैश्विक रुपमा कस्तो देखिएला ? पैसाबाहेक केही नदेख्ने द्रव्य पिशाचहरु शासनसत्ताको शीरमा पुग्ने, नाङ्गो नाच देखाउने र तिनलाई दण्डको दायरामा ल्याउने हिम्मत कुनै निकाय र व्यक्तिसँग नरहने हो भने कानून कथित ठूलाबडाको लँगौटीमा सीमित रहन पुग्छ, चेतना भया !
प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार १२:५९