अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे


तरुण पत्रिका

२४ चैत्र २०७९, शुक्रबार १३:५६

काठमाडौँ– पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।

उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको १ दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ ।

बिहीबारमात्रै ६ सय ९ अनलाइन आवेदन परेकामा ५ सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए ।उनका अनुसार आवेदन स्वीकृत भएका ५ सय आवेदकले आज एनओसी पत्र पाउनेछन् ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा १ हजार ६ सय ९६, जेठमा ४ सय ५६, असारमा ३ हजार १ सय ९, साउनमा ५ हजार ३ सय ४१, भदौमा ५ हजार ८ सय ६०, असोजमा ४ हजार ९ सय ६३, कात्तिकमा ३ हजार ७ सय ५७, मङ्सिरमा ५ हजार ६ सय ९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५ सय १३, फागुनमा १३ हजार ९ सय ७२ र चैतमा १६ हजार ३ सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए ।

यस वर्षको वैशाखमा १५ हजार ७ सय ७१ र जेठमा १४ हजार ६ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।
अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।

अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ ।

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार १३:५६