हेटौँडाका उद्योगमा साढे २ अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १४:२६

बागमती– नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ ।

केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने ५ सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार २ सय ४१ सङ्कलन भएको बताइएको छ ।
चालु आवकोे हालसम्म ५ हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने ९ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।

कारबाहीमा परेपछि ६ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट २ करोड ५३ लाख ९५ हजार महसुल सङ्कलन भएको जनाइएको छ ।

हेटौँडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड ६ लाख १२ हजार महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटाँैडा उपमहानगरपालिका लगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताए ।

सो कार्यका लागि १८ करोडभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १४:२६