काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता नदिन मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र डा.मनोज शर्माको संयुक्त इजलासले आइतवार रिट खारेज हुने फैसला सुनाएको हो । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस सभापति देउवालाई विपक्षी दलको नेता कायम गर्ने सम्बन्धमा संसद् सचिवालयले दिएको पत्र गैरकानुनी रहेको दाबी रिटमा लिइएको थियो।
संविधानको धारा ७६ (२) अनुसार १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोही धाराको उपधारा (४) अनुसार कांग्रेसको समेत समर्थनमा विश्वासको मत पाएका थिए। अधिवक्ता पोखरेलले दिएको रिटमा यसअघि सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कांग्रेस सभापति देउवासहितका विपक्षीसँग लिखित जवाफ माग गरेको थियो। लिखित जवाफपछि भएको अन्तिम सुनुवाईकाक्रममा सर्वोच्चको संयुक्त इजलासले आइतवार रिट खारेज गरिदिएपछि विधिवत रुपमा यो विवादको अन्त्य भएको छ।
प्रकाशित: २७ चैत्र २०७९, सोमबार १४:२०