अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


तरुण पत्रिका

२७ चैत्र २०७९, सोमबार १७:४४

काठमाडौँ– प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन् ।

आज नेपाल चेम्बर अफ कमर्शको ७२ औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्रीले दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताए ।
‘देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको २ तिहाई लगानी निजी क्षेत्रबाट भएको छ । उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ’, प्रधानमन्त्री दाहालले भने ।

उनले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

त्यस्तै पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने उनले बताए । ‘बहुआयामिक गरिबी कम हुँदै गएको छ । शिक्षा क्षेत्र, लैङ्गिक सशक्तीकरण, खानेपानी सुविधा, विद्युत्मा पहुँचलगायका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । अब क्षेत्रगत रुपमा लगानीको वृद्धि र लगानीलाई प्राथमिकीकरण गर्नुपर्ने छ‘, उनले भने ।

आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न नसके यसले अर्थतन्त्रको दिगो विकासका लागि योगदान पु¥याउन नसक्ने उनको भनाइ छ । पछिल्ला दिनमा अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक देखिँदै गएको पनि उनले दाबी गरेका छन् ।

‘देशभित्रै उत्पादन हुनसक्ने वस्तु पनि ठूलो मात्रामा आयात गरिरहेका छौंँ भने दैनिक २ हजारभन्दा युवा विदेशिरहेका छन् । तर देशको आर्थिक अवस्था त्यति खराब छैन । विदेशी मुद्रा सञ्चिति र राजस्व असुलीमा न्यून देखिए पनि ती समस्या पनि विस्तारै समाधान हुँदै गएका छन’, प्रधानमन्त्री दाहालको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले पनि अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको दाबी गरेका छन् । ‘हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा निराशा देखिएको छ । तर निराशाको जुन भाग्य बनाइँदैछ त्यति खराब अवस्था पनि होइन”, अर्थमन्त्री महतले भने ।

उनले अर्थतन्त्रबारे नकारात्मक धारणा बनाइएको भन्दै भन्नुभयो, ‘खाली बिग्रियो–बिग्रियो मात्रै भन्ने बनाइएको छ । अब सप्रिन्छ र सकारात्मक बाटोमा देशको अर्थतन्त्र अघि बढ्छ भन्ने धारणाका साथ अघि बढ्नुपर्नेछ ।’

बजारमा देखिएको यस्तो नकारात्मक भावना चिन्ताको विषय रहेको उनको भनाइ छ । अहिले बाह्य क्षेत्र सुधारोन्मुख अवस्थामा रहेको र मूल्यवृद्धि पनि नियन्त्रणमै रहेको भए पनि अरु केही क्षेत्रमा ठूलो प्रभाव देखिएको अर्थमन्त्री महतले बताए ।

यसवर्ष समग्र सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएकोमा भन्सार राजस्व मात्रै गतवर्षको भन्दा २८ प्रतिशतले कम उठेको उनको भनाइ छ । सार्वजनिक खर्च घटाउने र पुँजीगत खर्च बढाउने विषय पनि चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतले धारणा व्यक्त गरेका छन् ।

त्यस्तै न्यून राजस्व सङ्कलन भइरहेका बेला सामाजिक सुरक्षा, तलबभत्ता लगायतका अनिवार्य दायित्व बढ्दै गएकोबारे पनि उनले चिन्ता व्यक्त गरेका छन् । पुँजीगत खर्च बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको भए पनि त्यसको नतिजा भने प्रभावकारी देखिन नसकेको अर्थमन्त्री महतको भनाइ छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र खराब हुँदै जानुमा वित्तीय र मौद्रिक नीतिको सन्तुलन नमिल्नु प्रमुख कारण रहेको बताए । यहि कारण मुलुकको समग्र आर्थिक अवस्था अनुकुल देखिन नसकेको उनको भनाइ छ ।

कर प्रणालीमा नागरिकको बढी सहभागिता हुने अवस्था सिर्जना गर्न नागरिकतासँगै स्थायी लेखा नम्बर (पान) कार्ड पनि दिने व्यवस्था गरिनुपर्ने मल्लको भनाइ छ ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार १७:४४